बुटवल।बुटवल उपमहानगरपालिकाले शहरका तीन स्थानमा घुम्ती शौचालय स्थापना गर्ने भएको छ। ट्राफिक चोकस्थित दुर्गा मन्दिरको पूर्वपट्टी, हस्पिटललाइन पुष्पलाल चोकको पूर्वपट्टी, र राजमार्ग चौराहामा यी शौचालयहरू राखिनेछ।
आइतबार आयोजित एक कार्यक्रममा बुटवल उपमहानगरपालिकाले घुम्ती शौचालयहरूको व्यवस्थापन र सञ्चालनको जिम्मा बुटवल सेनेटरी प्रालिलाई हस्तान्तरण गरेको छ। सम्झौता अनुसार शौचालयहरूको चाबी पनि प्रालिलाई हस्तान्तरण गरिएको छ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले पैदल यात्री तथा यातायात प्रयोगकर्ताका लागि घुम्ती शौचालय उपयोगी हुने बताए। उनले पहिलो चरणमा तीन शौचालय स्थापना गरिएको र भविष्यमा थप विस्तार गरिने जानकारी दिए।
सुविधासहितको व्यवस्था
घुम्ती शौचालयमा महिला, पुरुष, र अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टाछुट्टै सुविधा उपलब्ध हुनेछ। प्रतेक शौचालय निर्माणमा करिब ४० लाख रुपैयाँ लागत लागेको छ। साथै, यसलाई कुनै मेला, महोत्सव, वा सभा समारोहका क्रममा अन्यत्र लैजान मिल्ने व्यवस्था गरिएको छ।
व्यवस्थित सञ्चालनको प्रतिबद्धता
बुटवल सेनेटरी प्रालिका सञ्चालक यम बहादुर थापाले कार्यविधिको पूर्ण पालना गर्दै शौचालय सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन्।
उपमहानगरपालिकाले शहरी सफाइ व्यवस्थापनमा यस कदमले उल्लेखनीय सुधार ल्याउने विश्वास लिएको छ।