निर्मला कुर्मी मृत्यु प्रकरण : आरोपी लुम्बिनीका मन्त्री बादशाहको गयो पद

by समतल अनलाइन

काठमाडौं । लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् । चौतर्फी विरोधपछि उनले आज (मंगलबार) पदबाट राजीनामा दिएका हुन् । बाँकेकी निर्मलादेवी कुर्मीलाई अपहरण गरी बेपत्ता बनाएको आरोप लागेका उनी गत साउन ९ गते मन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारमा उनले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका थिए । जानकी गाउँपालिका परस्पुरकी कुर्मीलाई बादशाहकै निर्देशनमा अपहरण र बेपत्ता पारिएको भन्दै आफन्त र अधिकारकर्मी लामो समयदेखि आन्दोलन गर्दै आइरहेका छन् ।

सरकारी प्रतिवेदनबाट पनि बादशाह दोषी देखिएको दाबी उनीहरूको छ । बादशाह नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद हुन् । २०७५ सालदेखि बेपत्ता निर्मलादेवीको अवस्था अहिलेसम्म अज्ञात छ । गृह मन्त्रालयको प्रतिवेदनमा एकल महिला निर्मलादेवीको जग्गा हत्याउन उनलाई अपरण गरी बेपत्ता बनाइएको उल्लेख छ । घटनामा संलग्नहरूको सूचीमा बादशाहको नाम पनि छ ।

विधवा तथा एकल महिला निर्मला कुर्मीमाथि बादशाह कुर्मी, कुँवर बब्बन सिंह, धिरेन्द्र सिंह, अम्मरलाल कुर्मी, भारतीय नागरिक मुनिम कुर्मी लगायतका आठ जनाले कुटपिट गरी सम्पत्ति खाने नियतले सम्पूर्ण कागजातहरू नागरिकता, लालपुर्जा, नाता कायमको कागज जबरजस्ती खोसेर लगेको र त्यसपछि निर्मलालाई बेपत्ता पारिएको प्रतिवेदनमा उल्लेख छ । निर्मलाको न्यायका लागि अधिकारकर्मी रुवी खानले अभियान नै चलाएर आन्दोलन गर्दै आएकी छन् ।

 
 
  
 

You may also like