पार्टी नीति र सिद्धान्तमा अघि बढ्नुपर्छ ः सभापति खाँण

नेपाली काँग्रेस तिलोत्तमा ३ द्वारा क्रियाशिल भेला र भित्तेपात्रो विमोचन
तिलोत्तमा । नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले नीति र सिद्धान्तमा पार्टी अघि बढ्नुपर्ने बताएका छन् । पार्टीलाई शक्तिशाली बनाउन र पार्टीका गतिविधिलाई चलायमान वनाउन पार्टीको तल्लो इकाई टोल र वडा समितिको संगठन मजवुद वनाउनुपर्नेमा उनले जोड दिए ।

नेपाली काँग्रेस तिलोत्तमा–३ ले शनिवार आयोजना गरेको क्रियाशिल तथा साधारण सदस्य भेला, भित्तेपात्रो विमोचन तथा नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै सभापति खाँणले ३ नम्वर वडा समितिले नगरमा पहिलो र उदाहरणीय कार्य गरेकाले जिल्ला सम्मेलनमा नगद पुरस्कार सहित उत्कृष्ट वडाका रुपमा सम्मान गर्ने वताए ।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख समेत रहेका सभापति खाँणले तिलोत्तमामा शहरको जस्तो भौतिक विकास र गाउँको जस्तो सामाजिक विकास गर्ने अभियानमा आफु लागि परेको वताए । उनले तिलोत्तमा नगरका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको आकर्षण वढाउन र उनीहरुको पोषण र स्वास्थ्यलाई मध्येनजर गरी संघीय सरकारले दिएको १५ रुपैयाँमा नगरपालिकाले १० रुपैयाँ थप गरेको वताए । उनले तिलोत्तमा नगरमा शिक्षा, स्वास्थ्य, कृषि, हरियाली प्रवद्र्धन र सरसफाईको क्षेत्रमा धेरै काम भएको वताउंदै नगरवासीको स्वास्थ्यलाई मध्येनजर गरी न्युनतम शुल्कमा एक्सरे, ल्याव र रेविज विरुद्धको भ्याक्सिन लगाउने ब्यवस्था मिलाएको वताए ।

काँग्रेसका महासमिति सदस्य चित्रबहादुर केसीले पार्टीभित्र तिक्ततापूर्ण व्यवहार हुन नहुने र स्वच्छ भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए । नेतृत्वको सोंचमा परिवर्तन आउन जरुरी रहेको र नेतृत्वको सत्ता लोलुपता, अहंता र केन्द्रिकृत सोंचका कारण कांग्रेसको संगठन कमजोर भएको भन्दै उनले चिन्ता ब्यक्त गरे ।

काँग्रेस तिलोत्तमा नगरसभापति हरिलाल पाण्डेले वडा समितिले पार्टी संगठनलाई गतिशिल वनाउन वडा समितिले क्रियाशिल सदस्य भेला र पार्टीका गतिविधिलाई समेटेर भित्तेपात्रो प्रकाशन गरेर उत्कृष्ट र उदाहरणीय काम गरेको भन्दै वडा समितिको प्रशंसा गरे ।

काँग्रेस तिलोत्तमा ३ की सभापति केशरी पाण्डेले वडा समिति पार्टी नीति र सिद्धान्त बमोजिम अगाडी बढेको बताइन् । उनले वडा समितिले टोल समितिलाई परिचालन गरी संगठन सुदृढिकरण अभियान संगै वडाका ६० वर्ष नाघेका जेष्ठ नागरिकलाई सम्मान गरेर सामाजिक र मानविय क्रियाकलापलाई संगसंगै अगाडी वढाएको वताईन ।

कार्यक्रममा काँग्रेस महाधिबेशन प्रतिनिधि चिरन्जिीवि पौडेल, जिल्ला सदस्य एल जी गुप्ता, क्षेत्रीय सदस्य कर्णबहादुर टण्डन, तिलोत्तमा ३ का वडाध्यक्ष कल्याण पौडेल, तिलोत्तमा ४ का पार्टी उपसभापति श्याम केसी, ३ का उपसभापति पदमबहादुर पौडेल, सचिव दिनेश सुवेदी, पशुपति टोल समितिका सभापति बासुदेव भण्डारीलगायतले वोल्दै पार्टीका आन्तरिक कमी कमजोरीलाई हटाउंदै काँग्रेसको संगठनलाई वलियो वनाउन जरुरी रहेको वताए ।

 
 
  
 

You may also like