वर्षाले कावासोती बजार जलमग्न

by समतल अनलाइन

कावासोती । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ । कावासोतीको फिल्महल चोक, सभापति चोकलगायत स्थान जलमग्न भएका हुन् ।

पानीको सतह बढेपछि कावासोतीको मुख्य बजारक्षेत्रमा पानी जमेको छ । नारायणघाट-बुटवल सडकखण्ड विस्तारको क्रममा सडकका नाली र ढल भत्काइएका कारण पानी बग्न नपाएपछि डुबान भएको हो । नगर क्षेत्रका सबै सडक जलमग्न र हिलाम्मे भएपछि सर्वसाधारणलाई सास्ती खेप्नु परिरहेको छ ।

कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । बुटवल-नारायणघाट सडकको काम समयमै सम्पन्न नहुँदा घाम लाग्दा बेस्सरी धुलो उड्ने र पानी परेपछि हिलाम्य हुने समस्याले सकस भएको स्थानीयले बताएका छन् ।

‘सडकको कालोपत्र भत्किएर बनेका ठूला खाल्डामा पानी जम्दा आवतजावतमा समस्या भएको छ’, स्थानीय रमेश थापाले भने । वर्षातको पानीले निकास नपाउँदा बजार क्षेत्र आसपासका विद्यालय, अस्पताल, सरकारी कार्यालयलगायतमा पानी पसेको उनले बताए ।

 

 
 
  
 

You may also like