किभ । रुस र युक्रेनका बीचमा अहिले भइरहेको द्वन्द्वका क्रममा अहिलेसम्म २५ सयभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको दाबी गरिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म २५ सयदेखि तीन हजारसम्म युक्रेनी सैनिकको मृत्यु भएको दाबी गरेका हुन् ।
सीएनएनसँगको कुराकानीका क्रममा शुक्रबार उनले दिएको जानकारी अनुसार अरू १० हजारभन्दा बढी युक्रेनी राष्ट्रसेवक घाइते भएका छन् । घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि उनले बताए ।
मृतक तथा घाइतेहरूले देशको रक्षाका लागि गरेको योगदानको प्रशंसा गर्दै उनले सिंगो युक्रेन आफ्नो रक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गरे । झण्डै दुई महिना अगाडि रुसले युक्रेनमाथि आक्रमण गरेकामा विश्वभरबाट विरोध भइरहेको छ ।
सुरुमा केही चरण दुई पक्षका बीचमा वार्ता भए पनि सहमति हुन नसकेपछि अहिले वार्ता पनि हुन छाडेको छ । अन्तर्राष्ट्रिय समुदायले भने तत्काल वार्तामार्फत आपसी विवाद समाधान गरी युद्ध अन्त्य गर्न आग्रह गर्दै आएका छन् । रासस/सिन्ह्वा