वार्सा । ‘भान्छा कोठामा पुग्दा मैले एउटा बम मेरो झ्यालतर्फ हुत्तिएर आइरहेको देखें । यो घटना यति छिटो घटिरहेको थियो कि मैले के भइरहेको छ भन्ने पनि थाहा पाउन सकिन । खाली बम उड्दै मतर्फ आइरहेको मात्र देखें ।’
यो घटना ११ मार्चको बिहान पूर्वी युक्रेनी क्षेत्र निप्रोपेत्रोभ्स्क ओव्लास्ट स्थित रुसी भाषी ओलेना सेलिच्जिनेवाको घरमा भएको हो । उनी पाँच वर्षिय जुम्ल्याहा छोरा नाजार र टिमुरका आमा हुन् । उनी बमको छर्राबाट जोगाउन आफ्ना सन्तानलाई कसरी आफ्नो शरीरमुनि लुकाएको सम्झिन्छन् । तर बम विस्फोट पछिका कुनै पनि घटना उनी सम्झन सक्तिनन् । बमको छर्राले उनीहहरू तिनै जनाको शरीरका विभिन्न भागमा चोट लागेको थियो भने उनीहरूले दृष्य शक्ति गुमाउन पुगे ।
यसै क्रममा उनीहरू सबैका छाला बेस्सरी डढ्यो, काँचको एक टुक्राले ओलेनाको एउटा आँखा काट्यो र उनको एउटा खुट्टा भाँचियो । दृष्य शक्ति फेरि फिर्ता ल्याउन नाजार र टिमुरको थुप्रै पटक शल्यक्रिया गराउनुपरेको थियो । बमले ध्वस्त भएको घरको भग्नावशेषबाट निकालेर उनीहरूलाई नजिकको एउटा अस्पतालमा लगिएको थियो । तर, गम्भीर घाइते भएकाले उनीहरूलाई तुरुन्तै अर्को राम्रो अस्पतालमा लगिएको थियो ।
तुरुन्तै लभिभका चर्चित नेत्ररोग विशेषज्ञ डा. नतालिया प्रिजलाई उनीहरूका चोटबारे जानकारी दिइयो । प्रिजले उनीहरूका चोटका तस्बिरहरू पोल्यान्डको मेडिकल युनिभर्सिटी अफ लुब्लिनमा कार्यरत आफ्ना पूर्व गुरु प्राध्यापक रोवर्ट राजदाकलाई पठाइन् । उनीहरूका तत्काल उपचार सुरु गरिनुपर्ने कुरा राजदाकलाई थाहा थियो । तर, युक्रेनमा युद्ध जारी रहेकाले ओलेनालाई दुई छोरासहित पोल्यान्डमा पुग्न एक साता लाग्न सक्थ्यो ।
अलिकति चमत्कारै भयो
प्राध्यापक राजदाक सम्झन्छन्, ‘उनीहरू नर्कबाटै आएका जस्तै देखिन्थे । आमा चाहिँ पूणर् रूपमा आँखाले नदेख्ने अवस्थामा थिइन् । उनले आफ्ना सन्तानलाई मात्र छामछुम गर्न सक्थिन् । बच्चाहरू पनि निकै भोकाएका र थाकेका थिए । आइपुग्ना साथ उनीहरू खाने, सुत्ने र रुने अवस्थामा मात्रै थिए । युरोपकै एउटा सबैभन्दा ठूलो अस्पतालका ख्यातिप्राप्त नेत्र शल्यचिकित्सक र मैले ओलेनाका आँखाको शल्यक्रिया गर्ने निणर्य गर्यौं ।’
उनले अगाडि भने, ‘चोटको गम्भीर स्वरूप र आँखाभित्रै काँच अड्केकाले शल्यक्रिया निकै जटिल सावित भयो । भाग्यवश शल्यक्रिया सफल भयो । दुई दिनपछि नै ओलेना दुवै आँखाले हेर्न सक्ने भइन् । अहिले उनी आफ्ना सन्तानलाई वरपर हेरेर खुसी हुने गरेकी छन् ।’
उनका छोराहरूका उपचार यात्रा अलि लम्बिने नै देखिन्छ । नाजारले एउटा आँखा गुमाएका छन् । प्राध्यापक राजदाकको टोलीले उनको रेटिनाको शल्यक्रिया गरिसकेको छ । अब क्याटार्याक्ट शल्यक्रियाको योजना भइरहेको छ । नाजार र टिमुरले पुन दृष्य फिर्ता पाउने प्रवल आशा गरिएको छ । तर, त्यसका लागि लामो उपचारको जरुरत हुने बताइएको छ । अहिले उनीहरूलाई मनोचिकित्सकले पनि आफ्नै तरिकाले उपचार गरिरहेका छन् । बीबीसीबाट