काठमाडौ । भोलि (आइतबार) देखि भौतिक उपस्थितसहित पठनपाठन हुने भएको छ । कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थाहरु फागुन १ देखि भौतिक उपस्थितीसहित पठनपाठन हुने भएको हो ।
विद्यालय, विश्वविद्यालयहरु, ट्युसन सेन्टरहरु सञ्चालनमा आउनेछन्। सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पठनपाठन गर्न भनेको छ । शिक्षा तथा मानवस्रोत केन्द्रले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘प्रस्तुत विषयमा नेपाल सरकार कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको मिति २०७८-१०-२३ को सिफारिस ‘विश्वविद्यालय, विद्यालय, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी २०७८ फाल्गुण १ गतेबाट सञ्चालन गर्ने।
विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्थाका लागि गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गर्ने’ उल्लेख भई आएकाले सो अनुसार नै कार्यान्वयनको लागि आवश्यक व्यवस्था मिलाउनु हुन निणर्यानुसार अनुरोध छ ।’
कोरोना संक्रमण जोखिमका कारण शैक्षिक संस्थाहरुले भर्चुअल पठनपाठन गरेका थिए । तर, विद्यार्थीहरुले भर्चुअल पठनपाठन भए पनि प्रभावकारी नभएको गुनासो गर्दै आएका छन् ।