नेपालमा विकास नहोस् भन्ने तत्वले एमसीसीले देश खान्छ भन्ने भ्रम फिंजाए : बाबुराम भट्टराई

by समतल अनलाइन

गोरखा। जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा विकास नहोस् भन्ने तत्वहरुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) बारे भ्रम फैलाएको बताएका छन् । गृह जिल्ला गोरखामा पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन अभियानका क्रममा भट्टराईले यस्तो धारणा राखेका हुन् । यसमा भारत, चीन र अमेरिका लागेको उनको आरोप थियो ।

एमसीसी सहयोग लिएर देश विकास गर्नुपर्ने उनको तर्क थियो । उनले एमसीसीबारे शंका नगर्न जनतालाई आग्रह गरेका छन् । ‘एमसीसीले देश खान्छ भन्ने भ्रम हो’ उनले भने, ‘एमसीसी पास गरे यहाँ अमेरिकी सेना नेपाल आउँछ, नेपाल खान्छ भन्छन् । यी सबै भ्रम हुन् । के त्यस्तो भए, नेपाली सुरक्षाकर्मी के हेरेर बस्छ ? हामी चुप लागेर बस्दैनौं नि ! अहिले त हामी सहयोग लिने हो, विकास र समृद्धिमा लाग्ने हो, अहिले कसैसँग निहुँ खोज्ने अवस्थामा हामी छैनौं । पहिले हामी बलियो बन्ने हो अनि पो कसैले हेप्न सक्दैन । अहिले एउटाले सहयोग दिन लाग्दा अर्को देशले भ्रम छर्ने काम गरेको छ, यो गलत काम हो ।’

उनले सोमबारबाट पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन अभियान सुरु गरेका हुन् । अभियान अन्तरगत उनले गोरखाका सबै गाउँपालिका÷नगरपालिकामा घरदैलो गर्नेछन् । मंसिर ३ गतेसम्म अभियान सञ्चालन हुनेछ । अभियानका क्रममा भट्टराईले आफू भोट माग्न नभई जनताको वास्तविकता हेर्न र समस्या समाधानको पहल गर्न घर–घरमा आएको बताए ।

उनले सही राजनीति नभएसम्म देश नबन्ने ठोकुवा गरेका छन् । अहिलेको राजनीतिक पार्टी र नेतृत्वले देशको विकास हुननसक्ने उनको दाबी थियो । तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा(नेकपा) विभाजनलाई उदाहरण दिदैं भट्टराईले पुरानो पार्टीबाट अब विकास र समृद्धि सम्भव नहुने विश्लेषण गरे ।

साम्यवादको अमूर्त कुरालाई छाडेर सबै राजनीतिक पार्टीलाई समाजवादी धारमा लाग्न समेत उनले आग्रह गरे । ‘दुईपटक विघटन भएर संसदले पुनर्जीवन पाएको छ । यससँगै तत्कालको लागि प्रतिगमनको खतरा टरेको छ । तर, राजनीतिक अस्थिरता, हरेक पार्टीभित्रको बेथिति, देश र राजनीतिको कथा व्यथा भने उस्तै छ’ भट्टराईले भने ।

 
 
  
 

You may also like