चीनले नेपाली सेनालाई दियो तीन लाख डोज खोप

by समतल अनलाइन

काठमाडौं । चीनले नेपाली सेनालाई तीन लाख डोज कोरोना भाइरसविरुद्धको खोप दिएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार जंगी अड्डामा पुगेर प्रधानसेनापति प्रभुराम शर्मालाई खोप हस्तान्तरण गरेकी हुन् ।

चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप प्रदान गरिएको १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख (डोज) कोभिड–१९ को खोप हस्तान्तरण भएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको उक्त हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले यस सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिए ।

चीनको सहयोगले नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने र यसबाट महामारीविरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको सेनाले जनाएको छ । चीनले नेपाललाई कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्री अनुदानमा सहयोग गर्दै आएको छ ।

 
 
  
 

You may also like