दैनिक ४०० मेगावाट विद्युत् खेर

by समतल अनलाइन

काठमाडौं । विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै खेर गइरहेको छ । यसबाट प्राधिकरणले मासिक झन्डै साढे दुई अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ । तर, विद्युत् प्राधिकरणसँग खेर गइरहेको विद्युतलाई प्रयोगमा ल्याउने ठोस योजना नै छैन ।

साउन, भदौ र असोजमा रातको समय दैनिक ३ सय ५० देखि ४ सय मेगावाटसम्म (करिब साढे ७ अर्ब रुपैयाँ बराबर) विद्युत् खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । विद्युत्को उत्पादन बढे पनि आन्तरिक बजारमा खपतको मात्रा बढ्न सकेको छैन । बाह्य बजारमा निर्यात पनि हुन सकेको छैन । गत साउनबाट ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको थियो ।

हाल १ हजार ९ सय ७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। तर, खपत भने १ हजार ४ सय मेगावाटको हाराहारीमा मात्रै रहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । केही दिन यताको बाढी र पहिरोका कारण १ सय ५० मेगावाट विद्युत् भने राष्ट्रिय प्रसारणबाट विच्छेद भएको छ ।

साँझको समयमा विद्युत्को धेरै माग हुन्छ । रातको समयमा भने ८ सय मेगावाट मात्र माग हुने गरेको छ । यस कारण रातिको समयमा धेरै बिजुली खेर गइरहेको प्राधिकरण बताउँछ ।

प्राधिकरणले आन्तरिक खपत बढाउने र भारतमा निर्यात गर्ने योजनालाई पूर्णरूपमा कार्यान्वयन गर्न नसक्दा बिजुली खेर गइरहेको स्वतन्त्र ऊर्जा प्रवद्र्धक संस्था इप्पानका उपाध्यक्ष आशीष गर्ग बताउँछन्। ३ वर्षअघिदेखि नै उत्पादित विद्युत् खेर जानसक्ने भन्दै निजी ऊर्जा प्रवद्र्धकहरूले सचेत गराउँदै आएका थिए । तर, प्राधिकरणले वास्ता नगर्दा अहिले समस्या देखा परेको गर्ग बताउँछन् ।

‘माथिल्लो तामाकोसी जोडिएर विद्युत् खेर जान थालेपछि मात्र प्राधिकरण ब्यँुझिएको छ,’ उनले भने, ‘तत्काल न खपत बढ्न सक्छ, न निर्यात नै हुन सक्ने अवस्था छ ।’

प्राधिकरणले भारतको विहारमा केही बिजुली निर्यात गरिरहेको छ । विहार सरकारले दैनिक २ सयदेखि २ सय ५० मेगावाटसम्म विद्युत् किनिरहेको प्राधिकरण प्रवक्ता भट्टराई बताउँछन् । बर्खाको समयमा नेपालबाट विद्युत् दिने र हिउँदको समयमा भारतबाट ल्याउने गरी सहमति गर्न विहारसँग प्रस्ताव गरेको प्राधिकरण स्रोत बताउँछ । तर, विहार सरकारले त्यसबारे जवाफ दिएको छैन । विहारले अहिले नेपालबाट आवश्यकताअनुसार मात्र विद्युत् लिइरहेको छ ।

नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाका कारण वर्षायाममा नेपालमा विद्युत् उत्पादन धेरै हुने गरेको छ । हिउँदको समयमा एक तिहाइ मात्र उत्पादन हुने गरेको छ । बर्खायाम सकिन लागेकाले विद्युत् खेर जाने समस्या अब विस्तारै कम हुँदै जाने प्राधिकरण स्रोतको भनाइ छ । प्रायःजसो नोभेम्बर १५ बाट नदीहरूको सतह घट्न गई विद्युत् उत्पादन समेत घट्ने गर्छ ।

 

 
 
  
 

You may also like