सबैलाई रुवाउने धर्मा कुमारीको मृत्यु : यात्रारत बसको सिटमै उड्यो प्राण

by समतल अनलाइन

दाङ। रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–९ बटला निवासी २८ वर्षीया धर्माकुमारी बटालाको यात्राको क्रममा बसमै मृत्यु भएको छ । बस रुकुम पश्चिम हुँदै जाजरकोट र सुर्खेत, बर्दिया हुँदै कोहलपुर जाँदै थियो ।

बिहीबार बेलुका साढे ५ बजे दूधे छोरा किरण बटलासहित रुकुमको राडीबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढेकी बटालाको मृत्यु भएको हो । धर्माकुमारीसँगै एउटै बसमा यात्रारत रुकुमकै २७ वर्षीय अर्जुन केसीका अनुसार बर्दिया जिल्लाको हरिया लेक आइपुग्दा एकाएक ३२ महिनाका किरण बटला रोएको आवाज सुनियो । झण्डै शुक्रबार बिहान साढे २ बजेको हुँदो हो । केसी १ नम्बर सिटमा थिए । धर्माकुमारीका आमा छोरा २ नम्बर सिटमा ।

‘म पछाडि फर्केर मैले हेर्दा बच्चा सिटदेखि तल खसेको देखें’, केसीले भने, ‘त्यसपछि म लगायत अरुले धर्माकुमारीलाई उठाउन खोज्यौं, तर उहाँ चालचुल गर्नु भएन ।’ धर्माकुमारी बसको सिटमै प्राणत्याग गरिसकेकी थिइन् । रातिको समय कहाँ लैजाने के गर्ने भन्ने अन्यौलता सिर्जना भयो ।

कोहलपुरतर्फ बस अगाडि बढ्यो । धर्माकुमारीकी गाउँकै अर्की एक महिला पनि बसमा सवार थिइन् । उनैले धर्माकुमारीको मृत शरीर सिटमै बसेको अवस्थामा समातेर यात्रा गरिन् । बच्चा रोइरहेको हुँदा केसी लगायत बसमा यात्रारत अरु यात्रुहरुले पालैपालो समाते । त्यतिबेलै कुनै यात्रुले त्यो तस्बिर मोवाइलमा कैद गरे, जुन आज सामाजिक सञ्जालमा ‘भाइरल’ छ ।

धर्माकुमारीका श्रीमान दलबहादुर बटला बाँकेको नेपालगञ्जमा साउन ४ गतेदेखि बस्दै आएका थिए । उनी त्यहाँ घर निर्माण सम्बन्धि ठेक्कापट्टाको काम गर्छन् । घरमा आमा छोरा मात्रै बस्थे । दलबहादुरका अनुसार धर्माकुमारी मुटु र प्रेसरको बिरामी थिइन् । उनलाई श्रीमानले गाउँकै मेडिकलमा उपचार गर्न सुझाव दिएका थिए । तर, गाउँको औषधिले काम नगरेपछि उपचारका लागि नेपालगञ्ज नै बोलाएको पाइएको छ । तर, विरामले च्यापेपछि काखको छोरालाई श्रीमानको काखमा थमाउने अठोट पनि अधुरो बन्यो ।

श्रीमान दलबहादुरसँगको सल्लाह अनुसार उनी उपचार गर्न नेपालगञ्ज जाने क्रममा उनको बसमै मृत्यु भएको हो । शनिबार मात्रै धर्माकुमारीको अन्तेष्टि बाँकेमा गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

 

 
 
  
 

You may also like