लुम्बिनी सरकार अल्पमतमा, मुख्यमन्त्री पोखरेललाई राजीनामा दिन विपक्षीको माग

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले फेरि अल्पमतमा परेका छन् । जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले आज (शुक्रबार) पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको हो ।

लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेका ३८ जना छन् । जसपाका चार सांसद सरकारमा हुँदा सरकारको पक्षमा बहुमत थियो । तर राज्यमन्त्री रायमाझीको राजीनामासँगै सरकारको पक्षमा ४१ जना सांसद मात्र हुन पुगेका छन् । सरकारलाई बहुमत पुग्न कम्तीमा ४२ सांसद चाहिन्छ । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४२ जना सांसद सरकारको विपक्षमा छन् ।

सरकारले बहुमत गुमाएसँगै विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन् । ‘सरकारका एक जना मन्त्रीको राजीनामासँगै मुख्यमन्त्रीले बहुमत गुमाइसक्नु भयो,’ नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले भने, ‘मुख्यमन्त्री ज्यू आफैंले बहुमत गुमेको एक मिनेट पनि सत्तामा रहन्न भन्नु भएको थियो, अब के गर्नु हुन्छ हामी हेर्छौं ।’

‘बहुमत गुमेको थाहा पाएरै वैशाख १९ गते राजीनामाको नाटक गरेर पार्टी छाडेका, उपसभामुख र उपस्थित नै नभएका सांसदको किर्ते हस्ताक्षर बुझाएर जालसाजीपूर्वक मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो,’ घर्तीले भने, ‘दुई तीन महिना जालझेल गरेर टिक्नु भयो, अब राजीनामा दिएर मार्गप्रशस्त गर्नुको विकल्प छैन ।’

सरकार अल्पमतमा परेसँगै सरकारले प्रदेशसभामा पेश गरेको बजेट पारित नहुने सम्भावना बढेको छ । प्रदेशसभाको बैठक असार २७ गते डाकिएको छ ।
राजीनामा दिएकी रायमाझी भन्छिन्, ‘अब प्रतिगमनविरुद्ध सङ्घर्ष गर्छु’
जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशकी नेतृ सुमन शर्मा रायमाझीले लुम्बिनी सरकारको राज्यमन्त्री पदबाट राजीनामा दिएकी छिन् । उनले आज जसपाको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेकी हुन् । ]

उनले आफूलाई जसपाका प्रदेश सांसद सन्तोषकुमार पाण्डेले छलछाम गरी सरकारमा लगेको बताउँदै आफू जसपाको मूलधारमा रहेर पार्टीको नीति सिद्धान्त अनुसारको प्रतिगमनको विरुद्धमा सङ्घर्ष गर्ने घोषणा गरेकी छिन् । साथै उनले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पत्र लेखेर आफूमाथि गरिएको कारबाही फिर्ता लिन आग्रह गरेकी छिन् ।

उनले वैशाख ६ गते गतेको संसदीय दलको निर्णय बमोजिम सही छाप गरी लुम्बिनी प्रदेश सरकारको विरुद्धमा अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको तर प्रदेश सांसद पाण्डेले जसपाको अध्यक्षको निर्देशन बमोजिम काम गर्नुपर्ने भन्दै झुक्याएर सरकारमा सहभागी गराएको पत्रका दाबी गरेकी छिन् । उनले अव प्रतिगमनविरुद्ध संघर्ष गर्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

 
 
  
 

You may also like