संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट निरन्तर सुनुवाइ

काठमाडौं। संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ जना सांसदले दिएको रिटमाथि आज सुनुवाई हुन लागेको हो । पहिलोे दिनको सुनुवाइमा देउवा पक्षबाट तीन जना वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, शम्भु थापा र महादेव यादव तथा दुई जना अधिवक्ता खाम्बबहादुर खाती र गोविन्द शर्मा बन्दीले बहस गर्नेछन् ।

नेपाल बार एसोसिएसनका पूर्व महासचिव समेत रहनुभएका अधिवक्ता खातीले २० मिनेट बहस गर्ने र त्यसपछि अधिवक्ता बन्दी र वरिष्ठ अधिवक्ता यादवले ४०–४० मिनेट बहस गर्ने सर्वोच्च अदालत प्रशासनले जारी गरेको सूचनामा जनाइएको छ ।

त्यस्तै वरिष्ठ अधिवक्ता कार्कीलाई एक घण्टा र थापालाई डेढ घण्टा समय छुट्याइएको छ । सुनुवाइको दोस्रो दिन भोलि वरिष्ठ अधिवक्ता हरिहर दाहाल र रमण श्रेष्ठले एक–एक घण्टा बोल्ने छन् । सर्वोच्च अदालतले नै रिट निवेदक पक्षलाई सुरूमा १२ घण्टा र पछि जवाफी बहसका लागि ३ घण्टा गरी १५ घण्टा समय व्यवस्थापन गरिदिएको थियो ।

संवैधानिक इजलासले संसद विघटन गर्नुको लिखित कारण पेश गर्न प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई आदेश दिएपछि सुनुवाई एक साताको लागि रोकिएको थियो । अहिले सबै पक्षबाट लिखित जवाफ आईसकेको र नेपाल बार तथा सर्वोच्च बारबाट दुई–दुई जना एमिकस क्युरी पनि खटाईसेकेको अवस्थामा सुनुवाई शुरु हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

 
 
  
 

You may also like