मंगल ग्रहबाट चिनियाँ यानले पठाएको पहिलो तस्बिर सार्वजनिक

काठमाडौं। चीनले मंगल ग्रहमा अवतरण गरेको उसको जुरोङ नामको यानले खिचेको पहिलो तस्बिरहरू सार्वजनिक गरेको छ ।
यान अगाडिको दृष्यमा मंगल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छ भने पछाडिको दृष्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ । सो यान आइतवार बिहानै मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको थियो । सो अवतरणपछि चीन मङ्गल ग्रहमा अवतरण गरेर लामो समय काम गर्न सक्ने यान राख्ने अमेरिकापछि दोस्रो देश बनेको थियो ।

मंगल ग्रहको उत्तरी गोलार्धमा अवतरण गरेको उक्त यानले कम्तीमा त्यहाँको ९० दिन काम गर्ने अपेक्षा चिनियाँ वैज्ञानिकहरूको छ । जुरोङ २४० किलो तौलको छ र सौर्य ऊर्जाबाट चल्छ । सो यानको अग्लो भागमा क्यामरा राखिएको छ जसले तस्बिर लिनुका साथै यानलाई यताउता जान पनि सहयोग गर्छ ।

जुरोङमा क्यामराबाहेक अन्य पाँच उपकरण छन् जसले त्यहाँको चट्टान र मौसमको अध्ययन गर्नेछन्। अमेरिकी अन्तरिक्ष यान पर्सिभिअरन्समा जस्तै यसमा पनि लेजर प्रविधिले चट्टानको अध्ययन गर्ने उपकरण छ ।

अमेरिकाले सन् १९७६ मा भाइकिङ–२ अवतरण गरेकै स्थानवरपर जुरोङ यान अवतरण भएको छ । सो स्थानमा लामो समयअगाडि समुद्र रहेको हुनसक्ने वैज्ञानिकहरूको विश्वास छ । त्यहाँ सतहमुनि निकै मात्रामा हिउँ रहेको भूउपग्रहको तथ्यांकले देखाउने वैज्ञानिकहरूको धारणा छ ।

अमेरिकाले गत फेब्रेवरीमा पर्सिभिअरन्स त्यहाँ अवतरण गराएको थियो । युरोपको दुई पटक मंगल ग्रहमा यानमा याना अवतरण गराउने प्रयास भने असफल भएको छ । एजेन्सी

 
 
  
 

You may also like