अस्पतालको बाहिर मानिसहरुको हारगुहार, अक्सिजनको कमी, रोइकराइ गरिरहेका विरामीका आफन्त, लाश जलाइरहेका दृश्यहरु आजकल मिडिया तथा सोसल मिडियाहरुमा सामान्य जस्तै बनेका छन् ।
पछिल्ला केही दिनयता लगातार हामीले यी खबरहरु सुन्दै तथा देख्दै आएका छौँ ।
तर यी सूचना तथा समाचारहरु केवल समाचार मात्र होइन डर बनेर हाम्रो मस्तिष्कमा छिरिरहेका छन् । उक्त डरले मानसिक स्वास्थ्यमा पार्ने असरका विषयमा पनि अब चर्चा हुन सुरु भएको छ । भारतको इथिक्स एण्ड मेडिकल रजिस्ट्रेसन बोर्डका अध्यक्ष सहित मानसिक स्वास्थ्यसँग सम्बन्धित अन्य डाक्टरहरुले एक खुला पत्र लेखेर यो विषयको उठान गरेका छन् ।
गत अप्रिल २८ अप्रिलमा लेखिएको उक्त पत्रमा सञ्चारमाध्यमहरुमा देखाइने विरामी, अस्पताल तथा लास जलाउने तथा गाड्ने स्थलहरुका दृश्यहरुले मानसिक स्वास्थ्यमा पार्ने असरका विषयमा उल्लेख गरिएको छ ।
के छ पत्रमा ?
भारतका दिग्गज मानसिक स्वास्थ्य सम्बद्ध डाक्टर तथा प्राध्यापकहरु समेतको समूहले लेखेको उक्त पत्रमा भनिएको छ– ‘घाटमा जलिरहेका शवका तस्वीर, मृतकका रोइरहेका आफन्तहरु, भावनाहरुको विस्फोट तथा उनीहरुका आसपासमा रहेका पत्रकार तथा क्यामराम्यानहरुको झुण्ड, यसले मानिसहरुको ध्यान तान्न त सकिन्छ तर यस्ता सामाग्रीहरुको प्रशारणको परिणाम गम्भीर हुन्छ ।’
महामारीमा लगाइएको पावन्दीका कारण आम मानिसहरु सामान्य जिवन जिउन पाइरहेका छैनन् । मानिसहरुमा पहिलेदेखि नै मानसिक स्वास्थ्यमा समस्याहरु उत्पन्न भैरहेका छन् । मानिसहरु घरभित्रै बस्न बाध्य छन् र यस्तोमा उनीहरु टेलिभिजन तथा सोसल मिडिया धेरै हेर्न थाल्छन् । तर जब उनीहरु यस्ता दुखदायी दृश्यहरु देख्दछन् तब उनीहरुको दुख झनै गहिरो बन्दै जाने विज्ञहरुको ठम्याई छ ।
पत्रमा लेखिए अनुसार यो मुस्किलको समयमा संवेदनशील विषयमा रिपोर्टिंग गर्नु सजिलो छैन । आफैले प्रशारण गर्ने तथा संकलन गर्ने दुखदायी खबरले आफैलाई त यतिधेरै गाह्रो हुन्छ भने त्यस्ता समाचार हेर्नेहरुमा कस्तो असर पर्ला ? समाचार हेर्ने पढ्ने मानिसहरु विभिन्न खाले मानिसक अवस्थाका हुन्छन् । जुन मानिसहरुमा संक्रमण कम छ र घरमै स्वास्थ्य लाभ गरिरहेका हुन्छन् उनीहरुलाई यस्तो नकारात्मक माहौल तथा त्रासदीपूर्ण समाचारहरुले निको हुनमा सहयोग गर्दैन ।
नकारात्मक समाचार र मस्तिष्कको प्रतिक्रिया
विज्ञका अनुसार लगातार नकारात्मक समाचार तथा सूचनाहरु हेरिरहँदा मानिसको सरीरमा तनाव पैदा गर्ने प्रणाली सक्रिय हुन्छ । यसले व्यक्तिलाई हाइपरअरोजल अर्थात् उच्चउत्तेजनाको अवस्थामा पूराउँदछ ।
डाक्टर भन्छन् ः यस्तोमा मस्तिष्कमा अलार्म लाग्न थाल्दछ कि निकै मुस्किलग्रस्त अवस्था छ, जस्तो तपाइँ जंगलमा हुनुहुन्छ र अगाडि सिंह आएको छ । सरीरका प्रणालीहरु एकाएक सक्रिय हुन्छन् । मानिस विरामी होस् वा नहोस् समाचार हेर्दाहेर्दै घर बसीबसी सरीरमा यस्तो परिवर्तन देखिन्छ । सरीरमा यस्तो हर्मोनको उत्सर्जन बढ्दछ, जसले तनाव पैदा गर्दछ ।
विज्ञका अनुसार विद्यमान अवस्थामा सबै मानिसहरु चिन्ता तथा तनावबाट घेरिएको अवस्था छ । यसले मानिसहरुमा भरोसा टुट्न थाल्दछ । यसको असर मस्तिष्कमा पर्दछ । जसका कारण आत्तिने, बेचैन हुने, दिमागमा सधैजसो डर पैदा भैरहने, चिडचिडाहट हुने, ग्लानीको भावना जागृत हुने र आँटेको काम गर्न नसक्ने जस्तो अवस्था पैदा हुन्छ ।
समस्याग्रस्त यो समयमा तनाव कम गर्नका लागि हामीसँग धेरै विकल्प पनि छैनन् । किनकी महामारीका बेला लागेका प्रतिबन्धका कारण हामी घरबाहिर निस्कन पाएका छैनौँ । आफ्ना आफन्त तथा साथीभाईसँग भेटघाट गर्न पाएका छैनौँ । यस्तोमा मानिसहरु टिभी तथा सोसल मिडियामा धेरै निर्भर हुनु परेको छ । मिडिया तथा सोसल मिडियामा सदैव यस्ता डरलाग्दा समाचार आउँदा हाम्रो मानिसक अवस्था झनै कमजोर हुन थालेको छ ।
कसरी बँच्ने समाचारको असरबाट ?
डाक्टरहरुका अनुसार मिडियाहरुको पनि आफ्नो नैतिक जिम्मेवारी हुन्छ । तथापि सोसल मिडियाहरुमा फैलिने अफवाह र गलत सूचनामाथि नियन्त्रण कायम गर्नु सजिलो भने छैन । त्यसैले यस्तो अवस्थामा सबैले आफ्नो स्तरबाट समाधानको उपाय खोज्नु पर्ने भएको छ । जसरी हाम्रो खानपान तथा पोषणको तालिका हुन्छ त्यसैगरी हामीले ध्यान दिनुपर्ने कुराहरुको पनि तालिका बनाउने । यसका लागि सबैभन्दा पहिले आफ्नो लागि कति सूचना आवश्यक छ भन्ने कुराको पहिचान गर्नु पर्दछ । समाचारका कारण नकारात्मक असर पर्नबाट जोगिनका लागिः
– कोरोना भाइरस सम्बन्धी सूचना तथा समाचारका लागि निश्चित श्रोतमात्रै फलो गर्नुहोस्, जस्तै डब्लुएचओ, स्वास्थ्य मन्त्रालय तथा एकदुई विश्वसनीय मिडियाहरु।
– सूचना तथा समाचार सुन्ने तथा हेर्ने कुरालाई पूर्णरुपमा बन्द गर्नु आवश्यक छैन । तर दिनमा कति समाचार हेर्ने भन्ने निश्चित समय छुट्टाउनुहोस् । आधा घण्टा बिहान र आधा घण्टा बेलुका मात्र समाचार च्यानल हेर्न सक्नुहुन्छ । केवल पत्रिकाबाट मात्रै पनि सूचना लिन सक्नुहुन्छ ।
– यदि तपाइँ अति संवेदनशील हुनुहुन्छ भने तपाइँले यस्ता समाचार हेर्न बन्द गर्न सक्नुहुन्छ । सोसल मिडियामा पनि ध्यान नदिनुहोस् । आफ्ना नजिकका व्यक्तिबाट एक दुई दिनको अन्तरमा सूचना लिन सक्नुहुन्छ ता कि आवश्यक जानकारीहरु नछुटुन् ।
– आफ्नो काबुमा के छ भन्ने कुरामा ध्यान दिनुहोस् । जस्तो कि अस्पताल बेड वा अक्सिजनको आपूर्ति बढाउने कुरा तपाइँको वशमा त छैन नै तर यस विषयमा सावधानी अपनाउन भने सक्नुहुन्छ । सावधानी राख्ने कुरा पनि आफ्नो वशको मात्र गर्नुहोस् ।
– कोही मानिस बारम्बार कोरोनाका विषयमा नकारात्मक कुरा गरिरहन्छ र त्यसले तपाइँलाई दिक्क लाग्छ भने त्यस व्यक्तिसँग कुरा कम गर्नुहोस् ।
– आफ्ना साथी तथा आफन्तहरुसँग कुराकानी गरिरहनुस् र एक अर्काको हौसला बढिरहनुहोस् ।
बीबीसीबाट