कोरोना संक्रमण तीव्र बनेपछि जापानमा संकटकाल

काठमाडौं । कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिदै गएपछि जापानमा पुनः संकटकालको घोषणा गरिएको छ । प्रधानममन्त्री योशिहिडे सुगाले शुक्रबार संकटकालको घोषणा गरेका हुन् ।

देशको केन्द्रीय राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा सङ्कटकाल घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । एसियाली मुलुक जापानमा अहिले तेस्रो पटक संकटकाल घोषणा गरिएको हो । अहिले घोषणा गरिएको संकटकाल आगामी मे ११ तारिख आइतबारदेखि लागु हुनेछ । महामारी थप फैलिन नदिने उद्देश्यले संकटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

जापानमा विशेष महत्वका साथ मनाइने ‘गोल्डेन विक होलिडेज’ नजिकिँदै गरेकाले त्यतिबेला झन् कोरोना फैलिने स्वास्थ्य अधिकारीहरूको चिन्ता छ । बार तथा रेस्टुरेन्टहरूलाई मादक पदार्थ विक्री वितरण नगर्न कडा प्रतिवन्ध लगाइएको छ भने व्यवसायीक ठूला ठूला प्रतिष्ठानहरू पनि बन्द गर्न लगाइएको छ ।

संकटकाल घोषणा गरिएपनि पूर्ण लकडाउन जस्तो भने नहुने अधिकारीहरूको भनाइ छ । कोरोना भाइरस फैलिनलाई सहयोगी हुने गतिविधिहरूका लागि मात्रै कडाइ गरिने अधिकारीहरूले बताएका छन् । विशेष गरेर भिडभाड हुन नदिने, सामाजिक दुरी कायम गराउने, मास्क लगाउन अनिवार्य गर्नेलगायतका विषय नै प्राथमिकतामा पारिने उनीहरुले जानकारी दिएका छन् । एजेन्सी

 
 
  
 

You may also like