म्यानमारमा सैन्य दमन झन तीब्र : ६ सय बढी प्रदर्शनकारीको गइसक्यो ज्यान

काठमाडौं । म्यानमारमा सेनाले सत्ता कब्जा गरेको विरोधमा जारी प्रदर्शनमाथिको दमन झनझन तीब्र बन्दै गएको छ ।
म्यानमारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा कम्तीमा ८० जनाको मृत्यु भएको अभियानकर्मीहरूले बताएका छन् ।

मृतकहरूको शव सेनाले लिएर गएको दावी आन्दोलनकारीको छ । ज्यान गुमाउनेको स्पष्ट संख्या योभन्दा बढी पनि हुनसक्ने उनीहरुले बताएका छन् । प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले भनेका छन–सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरे । केही हलचल हुने बित्तिकै गोली प्रहार गरेर आन्दोनकारीको हत्या गरे । म्यानमारमा गत माघ १९ गते देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी आन्दोलनकारीको मृत्यु भइसकेको छ ।

सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ । चुनावमा आङ सान सू ची र उनले नेतृत्व गरेको ‘नेशनल लिग फर डेमोक्रेसी’ दलले बहुमत प्राप्त गरेको थियो । निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिसकेको छ ।

यसैबीच म्यानमारको सेनाले पदबाट निष्काशित गरेका सांसद र म्यान्मारका लागि संयुक्त राष्ट्रसङ्घका लागि राजदूतले शुक्रवार सुरक्षा परिषद्का सदस्यहरूलाई म्यान्मारको सेनाविरुद्ध कदम चाल्न, प्रतिबन्धहरू विस्तार गर्न, हतियारमाथि रोक लगाउन र उडान नहुने क्षेत्र बनाउन आह्वान गरेका छन् । उनीहरूले संयुक्त राष्ट्रसङ्घको बैठकमा म्यान्मार ‘विफलताको सँघारमा रहेको’ दावी गर्दै सैनिक सरकारविरूद्ध कडा निर्णय लिन आग्रह गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

 

 
 
  
 

You may also like