काठमाडौं । म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकै दिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा एक महिनाभन्दा लामो समयदेखि प्रदर्शन भइरहेको छ ।
प्रदर्शन हिंसात्मक बन्दै गइरहेको छ । म्यानमारको सेनाले चुनावमा असन्तुष्टि जनाउँदै नेतृ सुकीसहितका नेताहरुलाई हिरासतमा राखेर एक वर्षका लागि संकटकालको घोषणा गरेको छ । सेनाले सबै अधिकार आफ्नो हातमा लिएर सैन्य शासनको घोषणा गरेको छ । चुनावमा सुकीले धाँदली गरेर जितेको सेनाको आरोप छ ।
यसैबीच म्यानमारमा हिंसात्मक गतिविधि बढेको भन्दै छिमेकी देशहरुले संयमता अपनाउन म्यानमारको सेनालाई आग्रह गरिरहेका छन् । सेनाले प्रदर्शनकारीहरुको प्रदर्शन दमन गर्ने क्रममा अहिलेसम्म ५० जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने धेरै व्यक्ति घाइते अवस्थामा छन् । म्यानमारमा हरेक दिन हिंसात्मक प्रदर्शन भइरहेको छ ।