भारतमा कोभिड-१९ विरुद्धको खोप ९४ लाखभन्दा बढीले लगाए

by समतल अनलाइन

काठमाडौं । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ९४ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।

यहाँ कोरोना भाइरस सङ्क्रमितको संख्या बुधबारसम्म एक करोड सात ९ लाख ५० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ८८१ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या एक करोड ९ लाख ५० हजार २०१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १०१ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५६ हजार १४ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड ६ लाख ५६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ३७ हजार ३४२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार १३४ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर २० करोड ८७ लाख ३ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बुधबार एकै दिनमा मात्र सात लाख २६ हजारभन्दा बढी व्यक्तिलाई कोभिड–१९ परीक्षण गरेको जनाइएको छ । –सिन्ह्वा

 

 
 
  
 

You may also like