तेस्रो सैनामैना मेयर कप फुटबलको उपाधि खनाल ब्रदर्शलाई

by समतल अनलाइन

सैनामैना। तेस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि खनाल ब्रदर्श फुटबल क्लवले हासिल गरेको छ ।
सैनामैनाको वडा नं। ७ स्थित सरस्वती माविको खेल मैदानमा बुधवार खनाल ब्रदर्श फुटबल क्लव र फर्साटिकर फुटबल क्लवबिच भएको फाइनल प्रतिस्पर्धामा फर्साटिकरलाई २–१ गोल अन्तरले पराजित गर्दै खनालले उपाधि हासिल गरेको हो ।

उपाधि सँगै खनालले नगद २ लाख २२ हजार २२२ रुपैँया सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेतामा चित्त बुझाएको फर्साटिकरले नगद १ लाख ११ हजार १११ रुपैँया सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

बुधवारको खेलमा उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएका दुबै समुहबाट पहिलो हाफमा गोल हुन सकेन । दुबै समुहका खेलाडीले पटक पटक आफ्नो पोल्टामा गोल गर्न खोजेपनि प्रयास असफल भयो । दोस्रो हाफको ६ औँ मिनेटमा फर्साटिकरका जर्सी नं। ७ का विदेशी खेलाडी फोफोनाले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए । त्यस लगत्तै खनाल ब्रदर्शका जर्सी नं। ११ का कान्छा गुरुङले गोल फर्काए । ब्रदर्शले गोल फर्काएसँगै खेल १–१ को बराबरीमा धकेलियो । त्यसपछि मैदानमा रहेका दर्शकको उत्साह र हुटिङ्सँगै खेल अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो । खेलको अन्तिम समयमा खनालका कान्छा गुरुङले पुन ः १ गोल गरे । उनले गरेको यो गोल नै निर्णयक बन्न सफल भयो । जसका कारण फर्साटिकरलाई २–१ पराजति गर्दै ब्रदर्शले तेस्रो सैनामैना मेयर कपको फुटबल प्रतियोगिताको उपाधि चुम्यो ।
खेलको समापन समारोहमा विजयी समुहहरुलाई सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले पुरस्कृत गर्नुभयो ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले आगामी वर्षदेखि गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा प्रतियोगिता सञ्चालन गर्ने गरी तयारी भइरहेको बताउनुभयो । उहाँले नगरमा खेलकुद क्षेत्रको विकास एवम् संरक्षणका लागि पालिकाले विभिन्न योजनाहरु बनाएर अगाडि बढेको जानकारी गराउनुभयो । प्रमुख अतिथि समेत रहनुभएका कार्कीले नगरमा फुटबल स्टेडियम, ब्याडमिन्टन, क्रिकेट, बास्केटबल परम्परागत आर्चरी खेल लगायतका खेलका लागि नगरले लगानी समेत गरिरहेको धारणा राख्नुभयो ।
विशिष्ठ अतिथि अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य दिर्घ बहादुर केसीले संघले खेलकुदको विकासका लागि खेल सामाग्री देखि प्राविधिक क्षेत्रमा काम गरिरहेको बताउनुभयो । खेलकुदको विकासका लागि सुविधा सम्पन्न भौतिक संरचनाहरु आवश्यक पर्ने बताउँदै तिनै तहका सरकारले यसमा लगानी गर्न जरुरी केसीको भनाइ छ । सैनामैनामा निर्माणधिन रहेको क्रिकेट रंगशालाको चर्चा गर्दै केसीले यसलाई सम्पन्न गर्नका लागि पालिकाले जोड दिनुपर्ने बताउँदै यसमा संघ साझेदारी गर्न तयार रहेको धारणा समेत राख्नुभयो ।

कार्यक्रममा सरस्वती माविका प्रधानाध्यापक रामप्रसाद पौडेलले वडा नं। ७ मा खेलकुदका सम्भावनाहरु प्रशस्त रहेको उल्लेख गर्नुभयो । क्लवका सल्लाहकार दिपक न्यौपानेले स्थानीय खेलाडीहरुको स्तरबृद्धिका लागि नगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट ४ मा पुग्ने दुई समुहललाई पनि नगद २०÷२० हजारका दरले सम्मान गरिएको छ । त्यसैगरी प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडलाई नगद १० हजार, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोल कर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद ५÷५ हजारका दरले पुरस्कार प्रदान गरिएको खेल संयोजक चित्रबहादुर थापाले जानकारी दिनुभयो ।

सैनामैना नगरपालिकाको आयोजना तथा जनप्रिय स्पोटिङ्ग युवा क्लबको व्यवस्थापनमा फुटबल प्रतियोगिता भएको हो । माघ २४ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा रुपन्देही, नवलपरासी र कपिलवस्तु गरी १२ समुह सहभागी थिए । समापन समारोह जनप्रिय स्पोटिङ्ग युवा क्लबका अध्यक्ष किशोर रानाको अध्यक्षता तथा सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता, अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य दिर्घ बहादुर केसी, सैनामैना उपमेयर बिना रानाको विशिष्ठ आतिथ्यतामा भएको हो । कार्यक्रमको सञ्चालन क्लवका सचिव रोमनाथ न्यौपानेले गर्नुभएको थियो ।
4 Attachments

 
 
  
 

You may also like