विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन

विराटनगर। मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । मोरङको रंगेली एक वृद्ध र धरानका एक जना पुरुष मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिएका छन् ।

उनका अनुसार धरान उपमहानगरपालिका-१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा शुक्रबार बिहान ७ बजे मृत्यु भएको हो । श्वास फेर्न गाह्रो हुने र फोक्सोमा संक्रमणको समस्या रहेका पुरुषलाई असोज १७ गते उपचारका लागि भर्ना गरिएको थियो ।

त्यही दिन राति कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई १८ गते बिहान आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो । पछिल्लो समय श्वासप्रश्वास र फोक्सोमा समस्या देखिए पनि पुरुषमा कुनै दीर्घ रोग रहेको जानकारी नभएको जनाइएको छ ।

त्यस्तै मोरङको रंगेली नगरपालिका-४ का ७२ वर्षीय संक्रमित वृद्धको उपचारका क्रममा आइसोलेसनमै बिहीबार राति ९ः३० बजेतिर मृत्यु भएको जानकारी उनले दिए । वृद्धलाई उपचारका लागि बुधबार बिहान अस्पताल ल्याइएको थियो ।

दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएको भन्दै गम्भीर अवस्थामा ल्याइएका वृद्धलाई तत्काल आईसीयूमा भर्ना गरेर उपचार थाल्दै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

नोबेलकै प्रयोगशालाबाट बुधबार राति रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि आईसोलेसनमा भर्ना गरिएको प्रबन्धक दाहालले बताए । मृतकमा थाइराइड र फोक्सो सम्बन्धी पुरानै समस्या रहेको चिकित्सकलाई उदृत गर्दै उनले जानकारी दिएका छन् । मृतक दुवै जनाको शवको व्यवस्थापन नियम अनुसार हुने उनले बताए ।

 
 
  
 

You may also like