प्रदेशको राजधानी भालुवाङ नै उत्तम : मुख्यमन्त्रि पोखरेल

by समतल अनलाइन

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अस्थायी राजधानी तोक्ने तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै बुटवल अन्तिम राजधानी नभएको बताएको दाबी गरेका छन्।
प्रदेशसभामा प्रदेश राजधानीको नाम र स्थायी राजधानीको विषयमा जवाफ दिने क्रममा मुख्यमन्त्री पोखरेलले कहीँ कतै सभापति देउवाले बुटवल अन्तिम राजधानी नभनेको दाबी गरेका हुन्। ‘बुटवल अस्थायी राजधानी हो स्थायी राजधानी तोक्ने अधिकार त प्रदेश सरकारलाई नै छ,’ देउवाले बुटवल आउँदा या त्यस क्षेत्रका विभिन्‍न कार्यक्रममा भनेको दाबी गर्दै मुख्यमन्त्रीले भने। उनले देउवाले उक्त भनाई पटक-पटक भनेको र आफूसँग रेकर्ड सुरक्षित रहेको पनि बताए।
प्रदेश ५ को राजधानी दाङको देउखुरी र नाम लुम्बिनी प्रस्ताव गरिएको छ। नामको विषयमा कुनै विवाद देखिएको छैन। स्थायी राजधानीको विषयमा भने सत्तापक्षकै केही सांसद र प्रतिपक्षी सांसदले विरोध गरिरहेका छन्।
‘नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले प्रदेशको अस्थायी राजधानी तोक्ने काम गर्नुभयो। त्यसपछि प्रदेश ५ का जिल्ला आउँदा उहाँले हरेक सभामा भनेका भनाइ मलाई सम्झना छ,’ उनले भने, ‘उहाँले अस्थायी राजधानी न तोकेको हो। स्थायी तोक्ने अधिकार प्रदेशसभामा छ भन्नुभएको थियो, रेकर्ड सुरक्षित छ।’
उनले प्रदेशको राजधानी कहाँ बनाउने नभई प्रदेश कस्तो बनाउने भनेर सोच्न उनले सबैलाई आग्रह पनि गरे। देउवाले बुटवललाई वैज्ञानिक हिसाबले सही छ भनेर नभनेको पनि दाबी गरे। ‘त्यसबेला उहाँले के भन्नु भएन भने वैज्ञानिक ढंगले हामीले राजधानी टुंगो लगाएका छौं यो नै अन्तिम हो भनेर कहीँ भन्नुभएको छैन,’ मुख्यमन्त्री पोखरेलले भने। बुटवललाई आर्थिक राजधानी बनाइने पनि आश्वासन दिए।

 
 
  
 

You may also like