चीनले बनाएको कोरोनाविरुद्धको खोपको मूल्य १५ हजार, चाँडै बजारमा ल्याउँदै

by समतल अनलाइन

काठमाडौं। चिनियाँ कम्पनी सिनोफार्मले आफूले परीक्षण गरिरहेको कोरोनाविरुद्धको खोपको मूल्य १४० डलर अर्थात झण्डै १५ हजार रुपैयाँ तोकेको छ ।

परीक्षण भइरहेको र नोभेम्बर महिनाको अन्तिमसम्ममा बजारमा लैजान सक्ने दाबी गर्दै कम्पनीले खोपको मूल्य तोकेको बीबीसीले जनाएको छ ।

कम्पनीले एक महिनाअघि आफूले खोजी गरिरहेको खोपको परीक्षण अन्तिम चरणमा पुगेको र त्यसले उत्साहजनक काम गर्ने बताएको थियो । कोरोना भाइरसमा चीनमा देखिएर विश्वभर फैलिएको थियो भने अहिले चीन आफ्नो सबै शक्ति लगाएर खोप बनाउने प्रतिस्पर्धा जित्ने प्रयासमा छ ।

विश्वभरि अन्तिम चरणका परीक्षणमा रहेका ६ वटामध्ये आधा खोप चिनियाँ हुन् । चीनमा भने कोरोना भाइरसलाई सफलतापूर्वक नियन्त्रणमा लिएको छ भने विश्वमा फैलिँदै गएको संक्रमण नियन्त्रणका लागि खोप अनिवार्य शर्त हो ।

विश्वका २१३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ४६ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने आठ लाख ३४ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । एक करोड ७० लाखभन्दा धेरै उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वमा दुई लाख ६० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने झण्डै छ हजारको ज्यान गएको छ । अमेरिका, ब्राजिल र भारतमा नयाँ संक्रमण र ज्यान गुमाउने दर दुबै बढिरहेको छ । एजेन्सी

 
 
  
 

You may also like