पेशागत असुरक्षा बढ्यो :पत्रकार

रुपन्देही । कोभिड–१९ को महामारीका कारण पत्रकारको पेशागत असुरक्षा बढेकामा चिन्ता व्यक्त गरिएको छ ।वर्तमान परिस्थितिमा श्रमजीवी पत्रकारको अवस्थाबारे प्रगतिशील पत्रकार सङ्घ नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अन्तरक्रियामा सहभागी पत्रकारले कोभिड–१९ को प्रभावको निहुँमा केही सञ्चारसंस्थाले आर्थिक समस्याको कारण देखाएर पत्रकार निष्काशन गर्ने काम गरेकामा रोष प्रकट गर्नुभयो ।

बन्दाबन्दीको कारण देखाउँदै कूनै मिडिया हाउसले पत्रकारलाई जागिरबाट निकाल्न खोजे त्यसको प्रतिवाद गर्ने चेतावनी पनि पत्रकारले दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं ५ का उपाध्यक्ष भरत केसीले कोरोना भाइरसको महामारीका कारण सञ्चार संस्था सञ्चालन गर्न समस्या भए पनि पत्रकारलाई जागीरबाट निकाल्न नपाइने बताउनुभयो ।“मिडिया सञ्चालनमा समस्या छ भने छलफल गरी निकास निकाल्न सकिन्छ तर पत्रकारलाई निकाल्न पाइँदैन”, उहाँले भन्नुभयो,“पत्रकारहरुलाई काम गरेको पैसा दिन नसक्ने मिडिया हाउस बन्द भए केही फरक पर्दैन ।” उपाध्यक्ष केसीले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको तलब र नियुक्तिपत्र दिन पनि सञ्चारसंस्थाका सञ्चालकलाई आग्रह गर्नुभयो ।

पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष बालकृष्ण चापागार्इँले कोभिड– १९ को प्रभावका कारण सञ्चारसंस्था सञ्चालन गर्न समस्या भएकाले पत्रकार समस्यामा परेको बताउनुभयो । दलित पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विनोद पहाडीले श्रमजीवी पत्रकार सङ्कटमा परेका अवस्थामा पत्रकार महासङ्घ गम्भीर बन्न नसकेको र सरकार
मूकदर्शक बनेको लगाउनुभयो । प्रगतिशील पत्रकार सङ्घ नेपालका सल्लाहकार सुमन अधिकारीले श्रमजीवी पत्रकारको पेशागत असुरक्षा बढ्दै गएकाले पेशागत एकता आवश्यक रहेको बताउनुभयो । पत्रकार महासङ्घ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले श्रमजीवी पत्रकारलाई बिदा गरेर सञ्चारसंस्था उम्कन नपाउने चेतावनी दिनुभयो ।

कार्यक्रममा प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष श्यामलाल पोखरेल, सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष नीरा गौतम, चांँदनी नेपालका भवानीप्रसाद पाण्डे तथा पत्रकार भुवन कार्की, भगवती पाण्डे, सोनु थापा, एनबी कँडेललगायतले पेशागत असुरक्षाले पत्रकारको मनोबल खस्किएको बताउनुभयो ।रासस

 
 
  
 

You may also like