खानालाई स्वादिलो बनाउनमा मसलाको महत्वपूर्ण भूमीका रहेको हुन्छ । साथै नेपाली खानामा प्रयोग गरिने मसलाका परिकारहरू (जीरा, बेसार, मरिच, खुर्सानी, लसुन, अदुवा, प्याँज)लाई स्वस्थवर्द्धक पनि मानिन्छ । जीराको दाना अथवा धूलो- नेपाली परिकार बनाउनको लागि नभई नहुने मसला । चाहे त्यो मासुको परिकार होस्, या साधारण तरकारी, अथवा दाल नै किन नहोस्, जीराको एक चिम्टी धूलो राखेपछि त्यसको स्वाद त मीठो भैहाल्छ, साथै बासना पनि मीठो नै आउँछ ।
तर के तपाईँलाई थाहा थियो, तरकारी स्वादिलो र सुगन्धित बनाउनुको लगायत स्वास्थ्यमा कैयौँ फाइदाहरू दिने कारणले पनि जीराको धूलोलाई खानाका परिकारहरूमा मिसाउने परम्परा चल्दै आएको हो ।
विश्वास लाग्दैन होला, तर जीराको एक चिम्टी दाना वा धूलोले मोटोपना घटाउने तथ्य अनुसन्धानबाट पत्ता लागेको छ । साथै यसले शरीरमा भएका बोसोलाई घटाउने, अनि नराम्रा कोलेस्ट्रोलको मात्रालाई प्राकृतिक रूपले नियन्त्रण गर्ने पनि उक्त अनुसन्धानबाट पत्ता लागेको छ ।
खानामा जीराको धूलो राख्नुको महत्व
जीरामा पाइने थाइमोल (Thymol) र अन्य फाइदाजनक चिल्लो पदार्थले हाम्रो मुखमा रहेका सालिभा ग्रन्थी (Salivary Glands) हरूलाई सक्रिय बनाउँदछ, जसले हामीले खाएको खानालाई पचाउन मद्दत गर्दछ । यसलगायत, जीराले हाम्रो कमजोर पाचनप्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ । त्यसैले यदि अपच हुने समस्याले सतायो भने जीराको चिया बनाएर पिउँदा त्यसबाट राहत पाउन सकिन्छ ।
मोटोपनाको समस्याको लागि जीराको दाना
तरिका १
१ गिलास पानीमा १ चम्चा जीराको दाना राख्नुहोस् र उमाल्नुहोस् । पानी उम्लिएर खैरो रङ्गको भएपछि ग्यास बन्द गरेर भाँडोलाई छोप्नुहोस् । त्यसपछि हलुका चिसो भएपछि त्यसलाई दिनको ३ चोटि पिउनुहोस् । यसले पाचनप्रक्रियामा राहत दिनुको साथै सामान्य पेट दुखेको समस्यालाई पनि समाधान गर्दछ ।
तरिका २
२ चम्चा जीराको दानालाई एक गिलास पानीमा राख्नुहोस् र त्यसलाई छोपेर रातभरी भिज्न दिनुहोस् । विहान त्यस पानीलाई चिसै अथवा उमालेर पिउनुहोस् । पिउँदा जीराको दानालाई पनि चपाउनुहोस् । यसले शरीरमा भएका अनावश्यक बोसोलाई हटाउँदछ ।
तरिका ३
१ गिलास दहीमा १ चम्चा जीराको धूलो राख्नुहोस् । चिनी नराखी, त्यस मिश्रणलाई दिनको एकचोटि खानुहोस् । यसरी नियमित सेवन गर्दा पनि तौल घटाउन मद्दत गर्दछ ।
तरिका ४
१ चम्चा जीराको धूलो र आधा चम्चा महलाई पानीलाई मिसाएर दिनहुँ पिउनुहोस् । यसरी पिउँदा पनि तौल नियन्त्रण गर्न सहज हुन्छ ।
तरिका ५
थोरै शुद्ध र सफा पानीमा गाँजर, काउली र बन्दा काटेर मिसाउनुहोस् र त्यसलाई बफाउनुहोस् । बाफिइसकेपछि त्यसमा लसुनको १/२ पोटि काटेर राख्नुहोस् र कागतीको रस पनि मिसाउनुहोस् । त्यस मिश्रणमा १/२ चम्चा जीराको धूलो मिसाउनुहोस् । यसलाई खाना खानेबेलामा दिनहुँ खानुहोस् र २ हप्ताभित्र जादु हेर्नुहोस् ।
घरेलु उपचार बाट यति धेरै राेगहरूकाे छुटकारा जानेर चकित पर्नु हुनेछ
अधिकांशले स्वास्थ्यलाई भन्दा खानपानलाई ध्यान दिने चलन छ । यस्तो खानपानले समस्या बनाएमा गाउँघरमा भनेको वेलामा स्वास्थ्यकर्मी पाउन पनि समस्या पर्छ ।
खाएको केही समयपछि पनि देखिने विभिन्न स्वास्थ्य समस्याको घरेलु उपचार गर्न सकिएमा धेरै सहज हुन्छ। स्थानीय रूपमा सजिलो एवं सर्वसुलभ पाइने निम्न जडीबुटीहरू तथा आयुर्वेदिक औषधिहरू प्रयोग गर्न सकिन्छ ।
कब्जियत भएमा
हर्रो, बर्रो र अमलाबाट निर्मि त्रिफला चूर्ण ३ देखि ६ ग्राम राति सुत्ने वेलामा मनतातो पानीसँग खाँदा फाइदा गर्छ ।
झाडापखला लागेमा
बेलको काँचो फलको गुदी आगोमा पकाएर महसँग पाउडर (चूर्ण) ३ देखि ६ ग्राम, रस १० देखि २० मिलि सेवन गर्नाले दिसाको साथमा रगत आउने, रगतमासी हुने समस्या पनि समाधान गर्छ। साधरण झाडापखलामा जिराको धुलो ३ ग्राम प्रयोग गर्न सकिन्छ।
वाकवाकी एवं बान्ता भएमा
वाकवाकी, उल्टी हुँदा दालचिनी वा सुकमेल प्रयोग गर्न सकिन्छ। शुद्ध दालचिनी वा सुकमेलका धुलो १ देखि ३ ग्राम प्रयोग गर्न सक्नुहुन्छ। अदुवाको रस वा सुकेको अदुवाको धुलो सेवन गर्दा पनि हुन्छ।
पेट दुखेमा वा पेटमा ग्यास भरिएमा
ज्वानो धुलो ३ देखि ५ ग्राम प्रतिदिन दुईपटक कुनै खाना वा अन्य पेय पदार्थमा राखेर खान सकिन्छ। पुदिनाको रस १०-२० मिलि र लेदो १-३ ग्राम प्रयोग गर्न सकिन्छ। बोझोको चूर्ण १२५ देखि ५०० मिग्रा र टुक्रा ५०० मिग्रा प्रयोग गर्न एवं चुस्न सकिन्छ।
टिमुरको धुलो अजीर्ण र ग्यास हटाउन १ देखि २ ग्राम साँझ–बिहान प्रयोग गर्दा फाइदा गर्छ। बच्चाहरूको साधारण पेट दुखाइमा, अजीर्ण, अरुचि रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ।
ग्यास्ट्राइटिक (अम्लपित्त भएमा)
अमला, मेथी, कुरिलो जराको धुलो, जेठीमधुमध्ये कुनै एक जडीबुटीको धुलो ३ ग्रामसम्म साँझ–बिहान प्रयोग गर्दा उपयोगी हुन्छ।
रुघाखोकी लागेमा
असुरोको पात वा फूलको रस १० मिलि र सुपको रूपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ। ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग मिलाएर खाने गर्दा पुरानो खोकी लागेको समस्या समाधान हुन्छ। रुघाखोकी लाग्दा ज्वानोको झोल बनाएर खाने चलन पनि छ। यसले खकार निकाल्न मद्दत गर्छ।
अदुवाको धुलो २ देखि ३ ग्राम दिनको दुईपटक श्वासप्रश्वास समस्या भएमा प्रयोग गर्ने सकिन्छ। सफा तुलसीको पातलाई पिनेर प्राप्त हुने रस (५–१० मि.लि) मा मह मिसाएर दिनको दुईदेखि तीनपटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम, आदिमा प्रभावकारी हुन्छ।
रक्तचाप बढेमा
जटामसी, निम वा सर्पगन्धा जडीबुटीको धुलो १ देखि ३ ग्राम साँझ–बिहान प्रयोग गर्दा फाइदा गर्छ। लसुनको लेदो १ देखि २ ग्राम नियमित सेवन गर्दा रक्तचाप घटाउन फाइदा गर्छ।
मधुमेह (चिनीरोग बढेमा)
चिनीरोगीहरूले मेथीको रस खाने बानी गर्दा प्रभावकारी हुन्छ। मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बिज पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ। गुर्जोको लहरा, तेजपात, बेसार आदिको धुलो ३ ग्रामसम्म नियमित रूपमा प्रयोग गर्दा फाइदा हुन्छ।
नोट
तर कुनै जटिल स्वास्थ्य समस्या आउँदा र औषधि किनेर सेवन गर्नुपर्दा चिकित्सक एवंम स्वास्थ्यकर्मीहरूसँग सल्लाह गर्न जरुरी छ । आयुर्वेदिक औषधिहरू प्रयोग गर्दा खानपानलाई पनि ध्यान दिनु जरुरी छ ।
मधुमेह, उच्च रक्तचाप र अन्य जीर्ण रोगीहरूले आहारविहारलाई ध्यान नराखी औषधि वा जडीबुटीको धुलो मात्र सेवन गर्दा प्रभावकारी हुँदैन। जडीबुटीको विश्वासमा परेर धेरै दिनसम्म खुला रहेका, म्याद नाघेका र गन्ध एवं स्वाद बिग्रेका औषधि प्रयोग गर्दा नकारात्मक असर पर्न सक्छ ।