पाल्पा पहिरो अपडेटः पहिरोमा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

पाल्पा । पाल्पामा पहिरोले दुई वटा गाडी बगाउँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।मंगलबार दिउँसो थप एक जनाको शव फेला परेको छ । झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिले बुद्धचोकका १८ वर्षीय कुमार तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर सुरज श्रेष्ठले बताए ।

पहिरोमा थप पुरिएको हुन सक्ने आशंकामा मंगलबार बिहानैदेखि खोजी कार्य थालिएको थियो । पुरिएको अवस्थामा उनको शव फेला परेको हो । उनी ट्यांकरको सहचालकको काम गर्दै आएका थिए ।यसअघि सोही घटनामा परि रिब्दीकोट गाउँपालिका २ देउरालीका ३२ वर्षीय भुवन खाम्चा, काभ्रे पाँचखाल नगरपालिका ८ हुक्से बजारका २८ वर्षीय निवेश श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका २९ बाङ्गेसालका ३३ वर्षीय वीरबहादुर गुरुङको निधन भएको थियो ।

तानसेन गुल्मी सडकखण्डअन्तर्गत तानसेन नगरपालिका ११ बन्दीपोखरास्थित सम्मोबारीमा अविरल वर्षासँगै आएको पहिरोले दुई वटा गाडी बगाएको थियो । अन्य दुई वटामा भने सामान्य क्षति भएको छ । लु२ख १३७६ नम्बर ट्रक र लु१क १९२८ नम्बरको ट्यांकरलाई पहिरोले बगाएको थियो । ट्रक भीरमा अड्किएको छ भने ट्यांकर तल खोल्सामा टुक्राटुक्रा परेको अवस्थामा छ ।

सडकमा रहेका लु१च ७०११ नम्बरको कार र लु२च ७०४३ नम्बरको पिकअप जिपलाई समेत पहिरोले सामान्य क्षति पु¥याएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणले घटनास्थल पुगेर उद्वार गरेका थिए । यो बाटोमा हालै डोजर लगाएर फराकिलो बनाउने काम भएको थियो । थाहा खबरको सहयोगमा

 

 
 
  
 

You may also like