कोरोना : अमेरिकामा फेरि बढ्यो मृत्तकको संख्या, २४ घण्टामै विश्वभर ५,७७२ को मृत्यु

  • विश्वभर २४ घण्टामै थपिए ८१ हजार नयाँ संक्रमित, हालसम्म १२ लाख ३९ हजार नौं सय निको

लण्डन । कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या केहि कम भएपछि राहत महसुस गर्न थालेको अमेरिकामा फेरि कोरोनाबाट ज्यान गुमाउने र संक्रमित हुनेको संख्या बढेको छ ।

विश्वमै सबैभन्दा बढी कोरोना भाइरस संक्रमणबाट आक्रान्त बनेको अमेरिकामा संक्रमण मत्थर हुन लाग्दा लाग्दै फेरि यसबाट ज्यान गुमाउने र संक्रमित हुनेको ग्राफ बढ्न थालेको हो । विश्वव्यापी कोरोना भाइरस महामारीबाट मंगलबार विश्वभर पाँच हजार ७७२ जनाले ज्यान गुमाएका छन् ।

आज (बुधबार) विहानसम्ममा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर दुई लाख ५८ हजार १२ पुगेको लर्ल्डओमिटरले जनाएको छ । अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३७ लाख २४ हजार ३४५ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका ८१ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये अहिलेसम्म विश्वभर गरी १२ लाख ३९ हजार ९ सय जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा दुई हजार ३३५ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७२ हजार नाघेको छ ।

अमेरिकामा संक्रमितको संख्या १२ लाख ३७ हजार भन्दा धेरै पुगेको छ भने मंगलबार एकै दिन अमेरिकामा साढे २४ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

यस्तै बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६९३ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म मृतकको संख्या २९ हजार ४२७ पुगेको छ भने संक्रमितको संख्या एक लाख ९४ हजार ९९० पुगेको छ ।

त्यसैगरी मंगलबार ब्राजिलमा ५७८ जनाको कोरोनाबाट मृत्यु भएको छ भने, फ्रान्समा ३३०, इटालीमा २३६, स्पेनमा १८५, क्यानाडामा १८९, पेरुमा १००, मेक्सिकोमा ११७, स्वीडेनमा ८५, नेदरल्याण्डमा ८६, बेल्जियममा ९२, इरानमा ६३, टर्कीमा ५९, रुसमा ९५, पाकिस्तानमा ३८ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म इटालीमा २९ हजार भन्दा धेरै, फ्रान्समा साढे २५ हजार भन्दा धेरै, स्पेनमा २५ हजार ६ सय भन्दा धेरैको कारोना संक्रमणबाट मृत्यु भइसकेको छ । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२७ जनाको मृत्यु भएको छ । त्यहाँ सोमबार १७५ जनाले ज्यान गुमाएका थिए ।

भारतमा अहिलेसम्म मृतकको संख्या एक हजार ६९३ पुगेको छ भने संक्रमितको संख्या ४९ हजार ४ सय पुगेको छ । भारतमा मंगलबार एकै दिन दुई हजार ९६३ नयाँ संक्रमित थपिएका छन् । सोमबार भारतमा तीन हजार ९३२ जनामा संक्रमण देखिएको थियो ।

भारतमा अहिलेसम्म १४ हजार भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् । त्यहाँ ३३ हजार पाँच सय ६५ जना उपचारको क्रममा छन् । नेपालमा हालसम्म ८२ जना कोरोना संक्रमित भइसकेका छन् ।

 
 
  
 

You may also like