अमेरिकामा बन्दुक बोकेरै लकडाउनविरुद्ध प्रदर्शन, ट्रम्प आफैले गरे समर्थन

काठमाडौं। अमेरिकाका लकडाउनविरुद्ध बन्दुक बोकेरै प्रदर्शन गरिएको छ । त्यस्तो प्रदर्शनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नै समर्थन जनाएका छन् । मिसिगन, ओहायो, नर्थ क्यारोलाइना, मिनेसोटा, उटा, भर्जिनिया र केन्टुकीमा लकडाउनविरुद्ध प्रदर्शन गरिएको हो । ती राज्यहरुमा डेमोक्रेटको शासन रहेको प्रदर्शनमा राष्ट्रपति ट्रम्पका समर्थक उत्रिएका हुन् । ट्रम्पले नै यस्तो प्रदर्शनको समर्थन गर्दा सडकमा भीड बढेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन राज्यहरुले घरमै बस्न गरिएको लकडाउनको उनीहरुले उल्लंघन गरेका हुन् ।

प्रदर्शनकारीको समर्थन गर्दै ट्रम्पले ट्वीटमा लकडाउन खुकुलो पार्न माग गरेका छन् । उनले मिनेसोटा, मिसिगन तथा भर्जिनियामा लकडाउन खुकुलो पार्न भनेका हुन् । लकडाउनले आर्थिक गतिविधि ठप्प हुँदा नागरिक समस्यामा पारेको प्रदर्शनकारीको भनाइ छ । स्वास्थ्य अधिकारीले भने लकडाउन हटाए वा खुकुलो पारेमा संक्रमण थप फैलिने चेतावनी दिएका छन् ।

ट्रम्पले आफ्नो ट्वीटमा डेमोक्रेट राज्यको मात्र उल्लेख गरेको र प्रदर्शन नै भएको ओहायो र उटालाई भने उल्लेख नगर्नुले पनि यसलाई राजनीतिक रङ्ग दिन खोजिएको आशंका हुँदैछ । उता, विस्कनसिन, ओरिगन, मेरिल्याण्ड, आइडाहो र टेक्सासमा पनि प्रदर्शनको तयारी भएको जनाइएको छ ।

अमेरिकामा बिहीबार अहिलेसम्मकै सबैभन्दा धेरै ४ हजार ५९१ जनाको मृत्यु भएको छ । शुक्रवार भने २५ सयभन्दा बढीको मृत्यु भएको बताइएको छ । अहिलेसम्म ३७ हजारको मृत्यु भइसकेको छ । त्यहाँ संक्रमितको संख्या सात लाख ९ हजार नाघिसकेको छ । ट्रम्प प्रशासनले लकडाउन हटाउने योजना बिहीबार सार्वजनिक गरेको भोलिपल्टै प्रदर्शन गरिएको हो । एजेन्सी

 
 
  
 

You may also like