नवलपरासीमा चैत्र १२ गते ‘कर्फ्यु’

बुटवल । पश्चिम नवलपरासीमा चैत १२ गते बुधबार एक दिनका लागि सर्वसाधारणलाई हिँड्डुलमा रोक लगाउँदै अघोषित कर्फुयु आह्वान गरिएको छ ।

स्थानीय तहका जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, राजनीतिक दललगायत सरोकारवालाले जिल्लालाई ‘लक डाउन’ गर्न सुझाव दिएपछि सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त आह्वान गरेको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए ।

उक्त दिन बिहान ५ बजेदेखि राति ९ बजेसम्म सर्वसाधारण घरबाहिर निस्कन पाउने छैनन् । औषधि पसलबाहेक अन्य पसल व्यवसायलगायतका सबै क्षेत्र बन्द हुने छन् । सुरक्षा निकाय, स्वास्थ्य संस्था, एम्बुलेन्स, दमकल, सञ्चारकर्मी, मानवअधिकारकर्मी, अन्तर्राष्ट्रिय संघसंस्थाबाहेक सबै यातायात बन्द हुने छन् । ‘जिल्ला लक डाउन’ को दिन बाहेक अन्य दिनमा अत्यावश्यक पसलबाहेक सबै व्यवसाय बन्द हुने छन् । औषधि, खाद्यन्न, होटलबाहेकका सबै पसल र व्यवसाय अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चित समय बन्द गर्ने निर्णय गरिएको प्रजिअ दाहालले जानकारी दिए ।

१५ जनाभन्दा बढी व्यक्ति भेला हुनसमेत बन्देज लगाइएको छ । पश्चिम जिल्ला भारतसँग जोडिएकाले कुनै पनि समय त्यसको संक्रमण नेपालमा देखा पर्ने भएकाले सजगता अपनाइएको प्रजिअ दाहालले बताए । सीमा क्षेत्रको आउजाउमा चैत १६ गतेसम्मका लागि पूर्ण रोक लगाइएको छ । लुकिछिपी भारतबाट आउन सक्ने भएकाले सुरक्षाकर्मीलाई सम्भाव्य नाकामा निगरानीका लागि खटाइएको छ । त्यसरी लुकिछिपी आएको जानकारी आए सहयोग गर्न सर्वसाधारणलाई जानकारी गराइएको छ ।

 
 
  
 

You may also like