बुटवल धागो कारखानामा २४ घण्टामै तयार हुनेगरि आईसोलेसन अस्पताल बनाइदै

बुटवल । बुटवलको औधोगिक क्षेत्रमा एक सय बेड क्षमताको छुट्टै आईसोलेसन अस्पताल संचालन गर्न लागिएको छ । औधोगिक क्षेत्रको फिनिसिङ हलमा ५० वटा आइसोलेशन र ५० क्वारेन्टाईन बेड सहितको अस्थायी अस्पताल बन्न् थालेको हो ।

बुटवल उप महानगरपालिकाका प्रमुख शिवराज सुवेदी तथा लुम्बिनि प्रादेशिक अस्पतालका प्रतिनिधि र पत्रकारहरुको टोलीले आज विहान धागो कारखाना क्षेत्रको स्थलगत निरिक्षण गरि अस्पताल संचालनको पहल शुरु भएको थियो । त्यस लगत्तै २४ घण्टामा सक्नेगरि अस्थायी अस्पताल निर्माणको काम शुरु गरिएको हो ।

पछिल्ला केहि दिन यता ज्वरो, रुघाखोकी जस्ता लक्षण लिएर उपचारका लागि आउने विरामीलाई अस्पतालहरुले भर्ना लिन नमानेपछि बुटवल औधोगिक क्षेत्रमा छुट्टै आईसोलेसन अस्पताल संचालन गर्न लागिएको हो ।

बुटवल उपमहानगरपालिकाको अगुवाईमा २४ घण्टा भित्र संचालनमा ल्याउने गरि बुटवल उपमहाजनगरपालिका वडा नं १० रामनगर स्थीत औद्योगिक क्षेत्रमा बन्द अवस्थामा रहेको बुटवल धागो कारखानामा आईसोलेसन अस्पताल संचालन गर्न लागिएको हो ।

२४ घण्टा भित्र संचालनमा ल्याउने गरि एकसय बेडको आईसोलेसन अस्पताल संचालनका लागि तिव्र रुपमा काम शुरु गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

यसअघि बुटवल भित्रकै सरकारी तथा निजी अस्पतालहरुमा कोरोना संक्रमणका विरामीहरुको उपचारका लागि डेढ दर्जन बढि आईसोलेसन बेड तयार रहेको दावी गरिएपनि कोरोनासंग मिल्दो लक्षण लिएर आउने विरामीलाई अस्पतालहरुले अन्यत्र पठाउने गरेपछि अस्थायी रुपमा छुट्टै अस्पताल संचालन गर्न लागिएको हो ।रुघा खोकिका बिरामीहरुलाई समेत अस्पतालले भर्ना गरेर उपचार गर्न नमानेपछि सरकारको आलोचना भएको थियो ।

उपमहानगरपालिकाका प्रमुख सुवेदीका स्वकिय सचिव मेघराज भट्टराईका अनुसार अस्पताल संचालनका लागि आवश्यक बेड यहांका निजी अस्पतालहरुले समेत उपलब्ध गराउने छन् भने आवश्यक प्राविधिक सहयोग लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले गर्ने भएको छ ।

सनिवार सांझ सम्म संचालनमा ल्याउने तयारी स्वरुप अहिले धागो कारखाना परिसरमा शौचालय निर्माण, विद्युत जडान तथा रङरोगनको काम भईरहेको छ ।

अस्पतालका लागि आबश्यक ३० वटा अस्थायी शौचालय निर्माण व्यवसायी संघ रुपन्देहीले निर्माण गरिदिने भएको छ । त्यस्तै विरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको लागि एकसय थान सुरक्षित एप्रोन काठमाण्डौबाट ल्याउदै गरिएको भट्टराईले जानकारी दिए ।

बुटवलमा हालसम्म कोरोना भाइरसको संक्रमण पुष्टि भएको कुनैपनि विरामी नभेटिएपनि कोरोनासंग मिल्दो जुल्दो लक्षण लिएर दैनिक चारपांच जना विरामी आउने गरेकोले ति विरामीहरुको ल्याब परिक्षणको रिपोर्ट नआउंदा सम्म आईसोलेसन अस्पतालमै राखी उपचार गरिने उपमहानगरपालिकाले जनाएको छ ।

 
 
  
 

You may also like