गुल्मीको बाँझकटेरीमा प्याराग्लाइडिङ्गको सफल परिक्षण

by समतल अनलाइन

हुमाकान्त पोखरेल
गुल्मी। मदाने गाउँपालिकाको वडा नं २ बाँझकटेरीस्थिच कसुरे डाँडाबाट प्याराग्लाइडिङ्गको सफल परिक्षण गरिएको छ । स्काई बर्ड प्याराग्लाइडिङ्ग पोखराको टोलीले बुधबार तीन वटा प्याराग्लाइडिङ्ग उडाएका थिए ।

पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले प्याराग्लाइडिङ्ग चालकहरुलाई फुलमाला लगाएर सफलताको शुभकामना दिएका थिए । मदाने गाउँपालिकाले होलबाङ्ग प्याराग्लाइडिङ्ग संभाव्यता अध्ययनका लागि आर्थिक बर्ष ०७६÷०७७ मा दुई लाख रुपैयाँ बिनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।

कसुरेडाँडा समुन्द्री सतहबाट २१ सय ५० मिटरको उचाईमा रहेको छ । बाँझकटेरीको कसुरे डाँडा प्याराग्लाइडिङ्गको हिसावले अत्यन्तै राम्रो रहेको स्काई बर्ड प्याराग्लाइडिङ्ग पोखराका प्रमुख तथा चालक भुवन गाहाले बताए ।

उनले पोखराको सराङकोट पनि १४ सय ५० मिटरको उचाईमा मात्रै भएकोले लामो र छोटो दुरीको प्याराग्लाइडिङ्गका लागि कसुरेडाँडा अत्यन्तै महत्वपूर्ण भएको बताए । लामो दुरीको लागि खर्च बढि लाग्ने भएकाले तत्कालै छोटो दुरीको प्याराग्लाइडिङ्ग गर्न सकिने गाहाले बताए ।

उनले पोखरामा अन्तराष्ट्रिय बिमानस्थल निर्माणको कारण प्याराग्लाइडिङ्ग बिस्तापित हुने अवस्था रहेकाले भविष्यमा गुल्मीलाई प्याराग्लाइडिङ्गको हबको रुपमा विकास गर्न सकिने बताए ।

स्थानीय खुसी र दङ्ग
स्थानीय रुमा भुसाल प्याराग्लाइडिङ्ग देखेर अचम्म परिन् । जीवनमा त्यसरी मान्छे आकाशमा उडेको देखेकी थिइनन् । ‘आकाशमा गिद्ध जस्तै मान्छे उड्ने कस्तो अचम्म ! मेरो आङनै सिरिङ्ग ग¥यो ।

’ उनले भनिन, ‘मान्छेले नजानेको केहि रहेन्छ ।’ त्यस्तै प्याराग्लाइडिङ्ग हुने खबर पाएर कसुरे पुगेका ६५ बर्षका भोज बहादुर चन्द पनि चकित थिए । उनले बाँदर नजाने भिरबाट मान्छे उड्दा आश्चर्य लागेको बताए । ‘मान्छे बाच्न पर्छ अनेक देखिन्छ भन्थे यहि रहेछ ।’ चन्दले भने, ‘यो डाँडो रमाइलो होला भनेर कसैले सोचेका थिएनन् ।’

संभावना मर्न दिदैनौ ः पुर्व मन्त्री बिष्ट
पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले विकटलाई निकट बनाउने यो संभावना मर्न नदिने बताए । परिक्षणको क्रममा बुधबार कसुरे पुगेका बिष्टले नियमित प्याराग्लाइडिङ्गको लागि आवश्यक भौतिक संरचना निर्माण र अन्य आवश्यक सहयोग गर्न आफु तयार रहेको बताए ।

उनले अग्लुङ्गबाट कसुरेहुँदै सिमलटारीसम्म पुग्ने सडकको स्तरवृद्धिसंगै कालो पत्रेको काम अगाडी बढेकाले कसुरेको प्याराग्लाइडिङ्गलाई थप टेवा पुग्ने बताए ।

साथै उनले गाउँको माया मारेर मधेश झरेकाहरु पैसा तिरेर प्याराग्लाइडिङ्ग गर्न आउने वातावरण सृजना गर्न आफुले कुनै विकल्प बाँकी नराख्ने बताए । मदाने गाउँपालिका प्रमुख दान बहादुर केसीले सडक निर्माणसंगै होलबाङ्गमा होमस्टे निर्माण गर्न गाउँपालिकाले योजना बनाउने बताए । उनले व्यावसायी रुपमा प्याराग्लाइडिङ्ग अगाडी बढाउने बिषयमा आफुहरु सक्रिय रुपमा लाग्ने बताए ।

 
 
  
 

You may also like