यतीलाई गोकर्ण दिने निर्णयको प्रतिरक्षामा उत्रिए प्रधानमन्त्री

by समतल अनलाइन

प्रधानमन्त्री केपी ओलीले यती होल्डिङ्स प्रालिलाई २५ वर्षका लागि गोकर्णको जग्गा लिजमा दिएको निर्णयको बचाउ गरेका छन् । सरकारलाई आकर्षक कर प्राप्त हुने सुनिश्चित भएपछि सबै कानुनी विधि, प्रक्रिया पुर्‍याएर मात्र जग्गा लिजमा दिइएको उनको दाबी छ ।

प्रेस संगठन नेपालको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेसम्म सरकारी जग्गा लिजमा दिइँदा अपनाइएका सबै प्रक्रियाको पनि छानबिन अघि बढाउने घोषणा गरे । अस्वस्थ भएपछि डेढ महिनादेखि आराममा रहेका ओलीले सरकारी निवासमा आयोजित पार्टीनिकट सञ्चारकर्मीको भेलालाई ४३ मिनेट सम्बोधन गरे । यतीलाई सस्तोमा जग्गा भाडामा दिइएको समाचार प्रकाशन भएको विषयलाई उनले सरकारविरुद्धको हमलाका रूपमा अथ्र्याए ।

‘अहिले विभिन्न ढंगले भ्रम पैदा गर्ने प्रयास भइरहेको छ । हामीले सानो लडाइँ लडिरहेका छैनौँ, महान् लडाइँ लडिरहेका छौँ । हरेक कुरामा हमला भइरहेको छ । उदाहरणका लागि सरकारले गोकर्ण रिसोर्टको लिज अवधि थपेको विषय,’ उनले भने, ‘यसअघि बरु हचुवाका भरमा मूल्यांकन गरेर दिइन्थ्यो, अहिले विभिन्न स्वतन्त्र विज्ञहरू, संघसंस्थाका प्रतिनिधि राखेर, मूल्यांकनका विधि तय गरेर, फाइदा हेरेर दिइएको छ ।’

अघिल्लो सम्झौताको म्याद सकिनुभन्दा पाँच वर्षअघि नै फेरि किन दिइयो किन दिइयो भनेर उठेको प्रश्नमा उनले भने, ‘जब कसैले लिजमा लिएर प्रयोग गर्छ र सरकारलाई आकर्षक कर तिर्छु भन्छ, प्रतिस्पर्धामा जान्छु भन्छ भने उसले नपाउने भन्ने त हुँदैन नि ।’ तर, प्रधानमन्त्री ओलीले भनेजस्तै प्रतिस्पर्धा गराएर यतीलाई लिज थपिएको होइन । बरु, सीधै दिन नमान्ने सातजना सचिवलाई हटाउन कानुन संशोधन गरेर तीनजना नयाँ सदस्य थपेर यो निर्णय गरिएको हो ।

पहिले नै लिजको अवधि थपिएन प्रधानमन्त्रीले सगरमाथा निकुञ्ज क्षेत्रको कोङ्देमा यतीले बनाएको रिसोर्टको विषयमा अध्ययन गरिरहेको बताए । ‘सगरमाथा आरोहण क्षेत्रको कोङ्देमा सरकारी जग्गा किन दिइएको रहेछ भन्नेबारे अध्ययन गर्दै छु ।’ तर, प्रधानमन्त्रीले भनेजस्तै कोङ्देको जग्गा सरकारले लिजमा दिएको होइन । बरु, मालपोतका नक्कली कागज बनाएर यतीले समूहले अतिक्रमण गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषी ठहर गर्दा पनि यतीमाथि कारबाही भएको छैन । ताहाचलको जग्गा पनि यतीलाई दिएको विषयमा प्रधानमन्त्रीले अध्ययन गर्ने बताए । ‘मैले आज थाहा पाएँ । यस्तो अनियमितता भएको छ कि, सरकार चलाउने दलले चुनाव हारिसक्यो, काम चलाउ सरकार भएका वेला पनि ठूला निर्णय गरिए । त्यसकारण कसले गल्ती गर्‍यो, कसरी दिएको छ, छानबिन गरौँ,’ उनले भने, ‘अरू विभिन्न ठाउँका लिजहरू पनि कसरी दिइएका छन्, छानबिन गरौँ । दरबारअघि कसले घर बनाउन दिएको हो, त्यो पनि छानबिन गरौँ ।’
नयाँ पत्रिका बाट

 
 
  
 

You may also like