तिलोत्तमा मेलामा दर्शकको ध्यान खिच्दै विजयासारको काठबाट बनेको गिलास

by समतल अनलाइन
53Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा मणिग्राममा जारी नवौँ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेलामा विभिन्न औद्योगिक उत्पादन, घरेलु सामग्री र नयाँ प्रविधिसँगै विजयासारको काठबाट बनेको गिलासले पनि दर्शकको ध्यान खिचेको छ ।

प्राकृतिक काठबाट तयार गरिएको यो गिलास मेलामा आउने अवलोकनकर्ताका लागि नयाँ आकर्षण बनेको छ । परम्परागत सामग्री र प्राकृतिक वस्तुप्रति रुचि राख्ने दर्शकले यसको बारेमा जानकारी लिने र खरिद गर्ने गरेका छन् ।

तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भइरहेको मेलामा छत्रकोट हुगेली ठेकी उद्योगले उत्पादन गरेको विजयासारको काठबाट बनेको गिलास प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ । मेलाका करिब ३२५ स्टलमध्ये यो स्टल पनि दर्शकको चासोको विषय बनेको छ ।

विजयासार (Pterocarpus marsupium) औषधीय गुण भएको वनस्पतिका रूपमा आयुर्वेदमा परिचित छ । यसको काठबाट बनाइएका गिलासमा पानी राखेर पिउने चलन पछिल्लो समय बढ्दै गएको छ । आयुर्वेदिक मान्यताअनुसार विजयासारको काठ विभिन्न स्वास्थ्य प्रयोजनमा प्रयोग हुँदै आएको छ ।

उत्पादन कम्पनीका अनुसार विजयासारको काठबाट बनेका गिलास तथा अन्य सामग्री उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले मेलामा स्टल राखिएको हो । इना सप्लायर्समार्फत उत्पादन तथा बिक्री हुँदै आएका सामग्रीबारे स्टल प्रतिनिधि नारायण पोखरेलले जानकारी दिए ।

प्राकृतिक काठबाट बनेको गिलास भएकाले यसको वातावरणमैत्री पक्षले समेत उपभोक्ताको ध्यान तानेको छ । प्लास्टिक तथा कृत्रिम सामग्रीको प्रयोग घटाउँदै प्राकृतिक वस्तुको प्रयोग गर्न चाहनेका लागि यो एउटा विकल्प बन्न सक्ने देखिन्छ ।

व्यापारिक गतिविधिसँगै उद्यमशीलता, पर्यटन, संस्कृति र मनोरञ्जनलाई समेत जोडेर मेला आयोजना गरिएको मूल आयोजक समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले बताए ।

मेलामा विजयासारको गिलाससँगै पशुपतिनाथ मन्दिर, लुम्बिनी, मुक्तिनाथ र जनकपुरधामका कलात्मक संरचना, रामायण शो, तिलोत्तमा आरती तथा पर्यटन ग्यालरी पनि दर्शकका आकर्षण बनेका छन् । आयोजकले मेलामा पाँच लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको छ ।

You may also like