बुटवल । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) ले बुटवल लायन्स आँखा अस्पतालको निरीक्षण गर्दै स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ आँखा उपचार सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।
अस्पतालको निरीक्षणका क्रममा सभामुख अर्यालले आँखाको परीक्षणसमेत गराएका थिए । उनको स्वागतमा अस्पतालले औपचारिक कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै सभामुख अर्यालले सामान्यदेखि जटिल प्रकृतिका आँखाको उपचारका लागि समेत बुटवलका नागरिक अन्य सहर धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । त्यसका लागि अस्पताललाई आधुनिक प्रविधि, आवश्यक उपकरण र दक्ष जनशक्तिसहित सुविधासम्पन्न बनाउनुपर्ने उनको भनाइ थियो ।
उनले स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउन अस्पतालको क्षमता विस्तार अपरिहार्य रहेको उल्लेख गर्दै बिरामीलाई सामान्य उपचारदेखि जटिल उपचारसम्म अन्यत्र रिफर गर्नुपर्ने बाध्यता हटाउनुपर्ने बताए ।
बुटवलमै गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउन आवश्यक उपकरण तथा जनशक्तिको व्यवस्थापनमा सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनले बताए । अस्पतालको भौतिक तथा सेवा विस्तारका लागि रुपन्देहीबाट प्रतिनिधित्व गर्ने सांसद, प्रदेशसभा सदस्य, स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहयोग जुटाउन आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
सभामुख अर्यालले बुटवल लायन्स आँखा अस्पताललाई लुम्बिनी प्रदेशकै प्रमुख आँखा उपचार केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा अस्पतालका अध्यक्ष महेशप्रसाद श्रेष्ठले अस्पतालले लामो समयदेखि रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका नागरिकलाई आँखा उपचार सेवा प्रदान गर्दै आएको बताए । उनले बढ्दो बिरामीको चाप र उपचार सेवाको आवश्यकतालाई मध्यनजर गर्दै अस्पतालको सेवा तथा क्षमता विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।
श्रेष्ठले अस्पताललाई आधुनिक सुविधासम्पन्न बनाउँदै सामान्य आँखाको परीक्षणदेखि जटिल प्रकृतिका उपचारसम्म स्थानीयस्तरमै उपलब्ध गराउने लक्ष्य रहेको बताए । त्यसका लागि आधुनिक उपकरण, विशेषज्ञ चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
उनले अस्पतालको सेवा विस्तार र गुणस्तर सुधारका लागि सरकार, स्थानीय तह, जनप्रतिनिधि, सामाजिक संघसंस्था तथा लायन्स अभियानसँग आबद्ध सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गरे । बुटवललाई आँखा उपचारको भरपर्दो केन्द्रका रूपमा विकास गर्न सबैको साझा प्रयास हुनुपर्नेमा उनले जोड दिए ।
त्यस्तै, अस्पतालका सल्लाहकार जीवनप्रसाद ओझाले अस्पतालको सेवा र योगदानबारे धारणा राखेका थिए । उनले अस्पतालले आँखा उपचारको क्षेत्रमा पुर्याउँदै आएको योगदान र आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकताबारे चर्चा गरेका थिए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विवेक उपाध्यायले अस्पतालबाट प्रदान हुँदै आएका उपचार सेवा, उपलब्ध सुविधा, विशेषज्ञ सेवा तथा अस्पतालको वर्तमान अवस्था र आगामी योजनाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै लायन्स क्लब अफ बुटवलका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले आँखा स्वास्थ्य सेवाको पहुँच विस्तारमा बुटवल लायन्स आँखा अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन आधुनिक उपकरण, दक्ष जनशक्ति तथा पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । स्थानीय नागरिकलाई सहज र सुलभ रूपमा गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउन सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा रुपन्देहीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरू अमृता विक, श्रद्धा कुँवर र मञ्जु भुसाल तथा रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य तौफिक अहमद खानको समेत सहभागिता रहेको थियो ।

