बुटवलका दलित महिला जनप्रतिनिधिहरुविच छलफल

by समतल अनलाइन
25Shares

बुटवल। जागरण मिडिया सेन्टरको आयोजनामा बुटवल उपमहानगरपालिकाका निर्वाचित दलित महिला जनप्रतिनिधिहरूसँग आईतबार छलफल कार्यक्रम सम्पन्न भएको छ ।

बुटवल उपमहानगरपालिकाका महिला जनप्रतिनिधिहरुको सञ्जालसँग गरिएको छलफलमा सहभागीहरुले कार्यपालिकादेखि वडा कार्यालयसम्म आफूहरुले गरेका काम र अनुभव तथा आगामि योजनाका बारेमा जानकारी प्रस्तुत गरेका हुन् । कार्यक्रममा जागरण मिडिया सेन्टरका अध्यक्ष तथा संविधानसभा सदस्य कमला विश्वकर्माले पदमा पुगेपछि गरिने काम नै महत्वपूर्ण हुने बताईन । उनले दलित महिला जनप्रतिनिधिहरूले राजनीतिक दलभित्र आफ्नो दावेदारी बलियो बनाउनुपर्ने र दलित तथा महिलाका मुद्दामा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिईन ।

विश्वकर्माले जनप्रतिनिधिहरूको अनुभव र नेतृत्वलाई जोड्दै स्थानीय तहमा दलित अधिकार सम्बन्धी ऐन निर्माणका लागि पहल गर्न आग्रह गरिन ।
सञ्जालकी संयोजक तथा कार्यपालिका सदस्य बसन्ती विश्वकर्माले दलित समुदायका सवालमा काम गर्न संघर्ष गरिरहेको उल्लेख गर्दै जनप्रतिनिधिको पदबाट बाहिरिए पनि छुवाछुत र विभेदविरुद्ध निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरिन् ।

सञ्जालकी सहसंयोजक तथा बुटवल उपमहानगरका कार्यपालिका सदस्य सुनिता खड्लुकले दलित समुदायलाई एकजुट बनाउने, नेतृत्व विकास गर्ने र दलित अधिकारसम्बन्धी ऐन निर्माणका लागि प्रयास भइरहेको बताईन्।
छलफलमा सहभागी जनप्रतिनिधिहरूले पाँच वर्षको कार्यकालमा आफूहरूले विभिन्न जिम्मेवारी सम्हाल्ने अवसर पाए पनि दलित महिलाको नेतृत्वलाई राजनीतिक दल, समुदाय र समाजले अपेक्षित रूपमा स्वीकार गर्न नसकेको अनुभव सुनाए ।

वडा नं २ की कुमारी दर्नालले पाँच वर्षको अवधिमा पटक–पटक कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हालेको बताउँदै अब वडा सदस्यभन्दा माथिको पदमा रहेर काम गर्न तयार रहेको बताईन । वडा नं. ८ की सविता विकले दलित महिलाहरू आर्थिक तथा सामाजिक अवस्थाका कारण निर्वाचनमा सहभागी हुन कठिनाइ भोगिरहेको बताईन ।

सञ्जालकी सचिव तथा वडा नं १३ की सदस्य कृष्णा सुनारले दलित जनप्रतिनिधिलाई दलित समुदायको मत प्राप्त भए पनि सम्मान र विश्वासको कमी रहेको बताईन । कार्यक्रममा वडा नं ४ की गोमा नेपाली, वडा नं ५ की विन्दु विक, वडा नं ९ की माया परियार, वडा नं १५ की मञ्जु दर्जीलगायतले पनि आफ्ना अनुभव सुनाएका थिए ।

जागरण मिडिया सेन्टरका विनाेद परियार, पत्रकार फूलु सुनार, कृष्ण रणपालले दलित समुदायका मुद्दा निरन्तर उठाउन र महिला तथा कार्यपालिका सदस्यहरूलाई संविधानले अधिकार दिएको बताउँदै समुदायको अपेक्षालाई समेत पूरा गर्नेगरी काम गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा दलित महिला जनप्रतिनिधिहरूको अनुभव, चुनौती र आगामी राजनीतिक नेतृत्वका सम्भावनाबारे छलफल गरिएको जागरण मिडिया सेन्टरका महासचिव जगलाल नेपालीले जानकारी दिए ।

You may also like