काठमाडौं । नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेवार समुदायले नयाँ वर्षको पहिलो दिनलाई ‘न्हूदँया भिन्तुना’ अर्थात् नयाँ वर्षको शुभकामना आदानप्रदान गरी उल्लासका साथ मनाउने परम्परा छ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ अर्थात् सन् ८८० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत् सुरु गराएको इतिहास छ। लिच्छविकालीन राजा राघवदेवको शासनकालदेखि सुरु भएको यो संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्का रूपमा प्रचलनमा रहेको थियो।
नेपालकै नामबाट राखिएको मौलिक संवत्का रूपमा परिचित नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन विसं २००७ सालमा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान सञ्चालन हुँदै आएको थियो। विसं २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए। विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए। अहिले सरकारी कागजातमा समेत नेपाल संवत् उल्लेख गर्ने अभ्यास सुरु भएको छ।
काठमाडौं उपत्यकासहित बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका क्षेत्रमा नेपाल संवत्को नयाँ वर्ष विशेष रूपमा मनाइन्छ।
आज म्हः पूजा पनि
नेपाल संवत्को नयाँ वर्षसँगै आज नेवार समुदायले म्हः अर्थात् आत्म पूजा पर्व पनि मनाउँदैछन्। कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने यस पर्वमा आफ्नै शरीर तथा आत्माको पूजा गरी सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्ने परम्परा छ।
मानिसको आत्मा नै सबैभन्दा महत्वपूर्ण भएकाले आत्मालाई प्रसन्न र सन्तुष्ट राख्न सके जीवन सार्थक हुने धार्मिक विश्वासका साथ म्हः पूजा गरिन्छ। आत्माको पूजा गर्दा देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने जनविश्वास रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवत्को नयाँ वर्ष र म्हः पूजा आजै मनाउनुपर्ने जनाएको छ।

