आजको मौसम पूर्वानुमान : देशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

by समतल अनलाइन
30Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहेको छ भने देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। साथै, अन्य प्रदेशका हिमाली भू-भागमा समेत आंशिक बादल लाग्ने सम्भावना छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

रातिको समयमा कोशी प्रदेशको हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
यसैबीच, तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

You may also like

This will close in 0 seconds