आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा

by समतल अनलाइन
51Shares

बुटवल । नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा आजदेखि तीनदिने ‘दीपावली सडक खाना महोत्सव’ गरिँदैछ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरस्थित शुक्रपथमा सञ्चालन गरिने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ ।

आज कात्तिक २० देखि २२ गतेसम्म सञ्चालन हुने महोत्सव अपराह्न ४ बजेदेखि राति १० बजेसम्म चल्नेछ । महोत्सवमा खानाका परिकार, तिहारका सामग्री तथा स्थानीय उत्पादनका गरी ५० वटा स्टल रहने संघका महासचिव वसन्तप्रसाद ढकालले जानकारी गराए ।

महोत्सवमा विभिन्न जातजातिका मौलिक संस्कृति र परम्परासँग जोडिएका रैथाने खानाका परिकार, फूलमाला, खाद्यान्न तथा तिहारमा आवश्यक सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् ।
संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलले स्थानीय उत्पादन, खानाका परिकार र व्यवसायको प्रवर्द्धन गर्दै उद्यमी तथा व्यवसायीलाई बजार विस्तारको अवसर प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । उनका अनुसार महोत्सवले दीपावलीको सांस्कृतिक महत्व र मौलिक परम्पराको संरक्षणसँगै बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधि बढाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

महोत्सवमा खानाका परिकारसँगै सांस्कृतिक प्रस्तुति र मनोरञ्जनका कार्यक्रमसमेत समेटिएका छन् । प्रचारप्रसार समिति संयोजक गणेश भट्टराईका अनुसार पहिलो दिन उद्घाटनपछि स्थानीय ब्यान्डको प्रस्तुति रहनेछ । दोस्रो दिन देउसीभैलो प्रतियोगिता र तेस्रो दिन राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति हुनेछ ।

स्थानीय कला, संस्कृति र खानाका विविध स्वादलाई एउटै स्थलमा प्रस्तुत गर्ने महोत्सवले तिहारको रौनक बढाउनुका साथै बुटवललाई चलायमान र उत्सवमय बनाउने अपेक्षा गरिएकाे छ ।

You may also like

This will close in 0 seconds