किभ । युक्रेनको दक्षिणपूर्वी क्षेत्रमा रहेको एक विद्यालय भवनमा रुसले कम्तीमा नौवटा बम प्रहार गर्दा ३३ जनाको मृत्यु भएको छ। आक्रमणमा परी अन्य ५० जना बेपत्ता रहेको युक्रेनी अधिकारीहरूले जनाएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जापोरिज्जिया क्षेत्रको कोमिशुभाखा गाउँस्थित भवनमा भएको आक्रमणलाई युद्ध सुरु भएयताकै सबैभन्दा घातक घटनामध्ये एक भएको बताएका छन्।
स्थानीय गभर्नर मिखाइलो सेमिकिनका अनुसार उक्त भवन सर्वसाधारणका लागि आश्रयस्थल र मानवीय सहायता वितरण केन्द्रका रूपमा प्रयोग हुँदै आएको थियो। आक्रमणका बेला स्थानीय बासिन्दा राहत तथा सहायता सामग्री लिन त्यहाँ भेला भएका थिए।
युरोपेली संघको आर्थिक सहयोगमा गत वर्ष निर्माण गरिएको भवनमा भूमिगत सुरक्षित आश्रयस्थलसमेत थियो। सामान्यतया अधिकांश आक्रमणको प्रभाव थेग्न सक्ने गरी निर्माण गरिएको उक्त संरचना शक्तिशाली बम प्रहारपछि ध्वस्त हुनुका साथै आगलागी भएको गभर्नर सेमिकिनले बताएका छन्।
युद्धका बीच पनि विद्यार्थीको पठनपाठन जारी राख्ने उद्देश्यले सुरक्षित आश्रयस्थल निर्माण गरिएको थियो। तर, युद्ध गाउँनजिकै आइपुगेपछि अधिकांश स्थानीय बासिन्दाले गाउँ छाडेका थिए। त्यसपछि उक्त भवन विद्यालयका रूपमा नभई प्रशासनिक केन्द्र र मानवीय सहायता वितरणस्थलका रूपमा प्रयोग हुँदै आएको थियो।
संयुक्त राष्ट्रसंघीय मानव अधिकार अनुगमन मिसनले मंगलबार जारी गरेको विज्ञप्तिमा मानवीय सहायता वितरणका लागि सर्वसाधारण भेला भएकै समयमा आक्रमण भएको उल्लेख गरेको छ।
मिसन प्रमुख ड्यानिएल बेलले सहायता वितरणको समय र स्थानबारे सार्वजनिक रूपमा जानकारी गराइएको बताएकी छन्। उनका अनुसार रुसी सेनालाई त्यहाँ सहायता वितरण भइरहेको जानकारी थियो वा आक्रमण गर्नुअघि गाउँको अवस्थाबारे आधारभूत जानकारीसमेत लिइएको थिएन भन्ने विषय स्पष्ट हुन सकेको छैन। दुवै अवस्थामा आक्रमणले अन्तर्राष्ट्रिय मानवीय कानुनका आधारभूत सिद्धान्त उल्लंघन गरेको हुन सक्ने उनले बताएकी छन्।
ऊर्जा पूर्वाधारमा पनि रुसी आक्रमण
राष्ट्रपति जेलेन्स्कीका अनुसार विद्यालय भवनमा आक्रमण भएको केही समयपछि रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै सयौँ ड्रोन तथा दर्जनौँ क्रुज र ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऊर्जा संरचनामाथिको आक्रमण रोक्न पटक–पटक आग्रह गरे पनि रुसी आक्रमण जारी रहेको उनले बताएका छन्।
युक्रेनका ऊर्जा मन्त्री डेनिस श्मिहालले खमेलनित्स्की आणविक ऊर्जा केन्द्र सञ्चालनका लागि महत्त्वपूर्ण सबस्टेसनलाई लक्षित गरी तीनवटा ड्रोन प्रहार गरिएको जानकारी दिएका छन्।
सामाजिक सञ्जाल टेलिग्राममार्फत उनले यस्ता आक्रमणले युरोपकै आणविक सुरक्षामा खतरा उत्पन्न गर्ने बताएका छन्। यस विषयमा युक्रेनले संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) लाई समेत जानकारी गराएको छ।
जेलेन्स्कीले अमेरिकी कंग्रेसको निर्वाचनकै दिन रुसी आक्रमण हुनु अर्थपूर्ण भएको टिप्पणी गर्दै यस्ता घटनालाई बेवास्ता गर्न नहुने बताएका छन्। उनले युक्रेनको आकाशको रक्षा गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको आग्रहसमेत गरेका छन्।
यसैबीच, ट्रम्प प्रशासनले रुस–युक्रेन युद्ध अन्त्यका लागि कूटनीतिक वार्ताको प्रयास तीव्र बनाएको छ। अमेरिकी विशेष दूत स्टिभ विटकफले हालै नर्वेमा जेलेन्स्कीसँग भेट गरेका थिए। त्यसपछि उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्न सेन्ट पिटर्सबर्ग पुगेका थिए।
अर्कोतर्फ, अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको पहलमा रुसी कब्जामा रहेको युक्रेनी सहर ओलेश्कीमा युद्धविराम गराइएको र त्यसबाट सप्ताहान्तमा सयौँ सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सम्भव भएको बताइएको छ।
ट्रम्प प्रशासनले बिहीबार ह्वाइट हाउसमा रुस र युक्रेनका प्रतिनिधिहरूबीच भेटघाट गराउने जानकारीसमेत दिएको छ।
उद्धारकर्मी र प्रहरीसमेत मारिए
कोमिशुभाखामा भएको आक्रमणलाई युद्ध सुरु भएयताकै घातकमध्ये एक मानिएको छ। पछिल्ला केही महिनायता युक्रेनका विभिन्न सहर तथा बस्तीमा रुसी हवाई आक्रमण तीव्र हुँदै आएको छ।
गत महिना डोनेट्स्क क्षेत्रको क्रामातोर्स्कमा दुईवटा यात्रुवाहक बसलाई लक्षित गरी गरिएको रुसी आक्रमणमा कम्तीमा ३३ जनाको मृत्यु भएको थियो। त्यस्तै, अगस्टमा राजधानी किभनजिकैको आवासीय क्षेत्रमा भएको ड्रोन आक्रमणपछि विस्फोट र आगलागी हुँदा ३८ जनाले ज्यान गुमाएका थिए। जुलाईमा किभमा भएको ठूलो क्षेप्यास्त्र आक्रमणमा पनि ३३ जनाको मृत्यु भएको थियो।
कोमिशुभाखामा पहिलो चरणको आक्रमणपछि उद्धारकर्मी घटनास्थल पुगेका बेला दोस्रोपटक आक्रमण गरिएको बताइएको छ। उक्त घटनामा उद्धारका लागि खटिएका ४४ वर्षीय डेनिस कोनोभालेन्को र ओलेक्सी सुचेभ्स्कीको समेत मृत्यु भएको छ।
युक्रेनी प्रहरीले आक्रमणमा आफ्ना कम्तीमा चार जना अधिकारी मारिएको जनाएको छ। मृत्यु हुनेमा दुई दशकभन्दा बढी समय प्रहरी सेवामा बिताएका मिखाइलो बुजेन्को र मिकोला बालान्डा तथा एक दशकभन्दा बढी समयदेखि सामुदायिक प्रहरीका रूपमा कार्यरत मिखाइलो रोमानोभ र दिमित्रो बेसेदिन रहेका छन्।
प्रहरीका अनुसार उनीहरू स्थानीय बासिन्दालाई भूमिगत विद्यालयमा सुरक्षित स्थानमा लैजान सहयोग गरिरहेका थिए। दोस्रो चरणको आक्रमणमा भाग्न खोजिरहेका सर्वसाधारण तथा उद्धारमा खटिएका व्यक्तिहरू प्रभावित भएका थिए।
गभर्नर सेमिकिनले युक्रेनको राष्ट्रिय टेलिभिजनसँग कुरा गर्दै आक्रमणमा रुसले केएबी–५०० र एफएबी–३००० प्रकारका बम प्रयोग गरेको बताएका छन्।
उनका अनुसार एफएबी–३००० करिब तीन टन तौल भएको हवाई बम हो, जसमा झन्डै डेढ टन विस्फोटक पदार्थ हुन्छ। यस्ता बम विशेषगरी बलिया कङ्क्रिट संरचना तथा बंकर ध्वस्त पार्न प्रयोग गरिन्छन्।


