मनाङ घुम्ने भारतीय पर्यटकको संख्या बढ्दो, अक्टोबरसम्म ३० हजारभन्दा बढी विदेशी पुगे

by समतल अनलाइन
33Shares

मनाङ । अन्नपूर्ण पदमार्गसहित मनाङका पर्यटकीय गन्तव्यमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ। सन् २०२६ को अक्टोबरसम्म मात्रै पाँच हजार ४९ भारतीय पर्यटकले मनाङ भ्रमण गरेका छन्।

अन्नपूर्ण संरक्षण आयोजना एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार अक्टोबरसम्म विभिन्न ११९ देशका कुल ३० हजार ६६२ विदेशी पर्यटकले मनाङका विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेका छन्। भ्रमण गर्नेमा १९ हजार १४० पुरुष, ११ हजार ५१२ महिला र अन्य १० जना रहेका छन्।
आयोजनाको तथ्यांकअनुसार मनाङ भ्रमण गर्ने विदेशी पर्यटकमध्ये भारतका पाँच हजार ४९, इजरायलका दुई हजार ७६८, जर्मनीका एक हजार ९४८, चीनका एक हजार ८९९ र फ्रान्सका एक हजार ३४ जना रहेका छन्।

प्रमुख भुजेलका अनुसार सार्क राष्ट्रबाट पाँच हजार ९० जना र अन्य मुलुकबाट २५ हजार ५७२ जना पर्यटक मनाङ पुगेका छन्। उनका अनुसार प्रतिकूल मौसमका बाबजुद पनि मनाङको प्राकृतिक तथा सांस्कृतिक सुन्दरताले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ।
अर्नब चक्रवातको प्रभावले हिमाली क्षेत्रमा हिमपात हुँदा समेत पर्यटकको आगमन उल्लेख्य रहेको भुजेलले बताए। जोखिमपूर्ण मौसमका बीच पनि पर्यटक मनाङका प्राकृतिक तथा सांस्कृतिक क्षेत्रको अवलोकनका लागि पुगेका थिए। मौसममा सुधार आएपछि उनीहरू अहिले विभिन्न पर्यटकीय गन्तव्यमा पुगिसकेको उनले जानकारी दिए।

अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सिमानामा रहेको थोराङ्ला भञ्ज्याङ, विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो ताल तथा हिमलुङ र मनास्लु हिमाल आरोहणका लागि पर्यटक मनाङ पुग्ने गरेका छन्।

हिमाल तथा पहाडका मनोरम दृश्य, स्थानीय बासिन्दाको संस्कार, संस्कृति, रीतिरिवाज र प्राकृतिक सुन्दरताले मनाङलाई आकर्षक पर्यटकीय गन्तव्य बनाएको छ। त्यस्तै, विश्वका जोखिमपूर्ण पदमार्गमध्ये एक मानिने अन्नपूर्ण पदमार्ग हुँदै पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङ हुँदै पोखरा पुग्ने गर्छन्।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नगरपालिका–७ स्थित मनाङ्गे चौतारा हो। यस पदमार्गले लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्लालाई जोडेको छ।

काठमाडौं हुँदै सवारीसाधनबाट बेँसीसहर पुग्ने पर्यटक पछिल्लो समय सिधै चामे र खाङ्सारसम्म पनि पुग्ने गरेका छन्। त्यसपछि मात्रै उनीहरूले पदयात्रा सुरु गर्ने गरेका छन्।

You may also like

This will close in 0 seconds