लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डेय नियुक्त

by समतल अनलाइन
38Shares

बुटवल । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डेयलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रुपन्देहीको तिलोत्तमा नगरपालिका निवासी पाण्डेयलाई सदस्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।

पाण्डेय यसअघि प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर रहँदा उनको सचिवालयमा रहेर काम गरेका थिए। पछिल्लो समय उनी पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका प्रमुख सल्लाहकारका रूपमा कार्यरत थिए।

पूर्वाधार विकास, संरचनागत इन्जिनियरिङ तथा सहरी व्यवस्थापन क्षेत्रमा अनुभव हासिल गरेका पाण्डेयले काठमाडौंको एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्।

उनले काठमाडौं महानगरपालिका, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा संरचनागत इन्जिनियरका रूपमा काम गरिसकेका छन्। स्थानीय तहमा रहँदा भवन निर्माण मापदण्ड, संरचनागत सुरक्षा, ठूला भवनको प्राविधिक परीक्षण तथा अनलाइन भवन निर्माण अनुमति प्रणालीको सुधारमा उनको योगदान रहेको थियो।

त्यसैगरी, विभिन्न पैदलयात्री पुल, कोहलपुरको हावाहुरी तथा भूकम्प प्रतिरोधी भ्यु टावरलगायत सार्वजनिक संरचनाको डिजाइनमा समेत उनले काम गरेका छन्। नेपाल राष्ट्रिय भवन संहिताको समीक्षा प्रक्रियामा योगदान पुर्‍याएको भन्दै स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपालले उनलाई सन् २०२४ मा प्रशंसापत्र प्रदान गरेको थियो।

यसअघि सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मालाई नियुक्त गरेको थियो। तर, उनको नियुक्तिलाई लिएर लुम्बिनी बचाउ महाअभियानका अभियन्ता तथा स्थानीयले विरोध गर्दै आएका छन्।

विरोधमा उत्रिएका पक्षले नियुक्ति प्रक्रिया, नागरिकता र विगतमा भएको भनिएको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका विषयमा प्रश्न उठाएका छन्। यद्यपि, आनी छोइङ डोल्माले आफूमाथि उठेका प्रश्नहरूको निराकरण भइसकेको बताउँदै आएकी छन्।

यस्तो पृष्ठभूमिमा रुपन्देहीकै स्थानीय बासिन्दा पाण्डेय सदस्य सचिवमा नियुक्त हुनुलाई कोष र स्थानीय समुदायबीचको सम्बन्ध थप सुमधुर बनाउन सक्ने अवसरका रूपमा हेरिएको छ। उनको नियुक्तिले लुम्बिनी विकास कोषको प्रशासनिक कामकारबाही र विकास गतिविधिमा कस्तो प्रभाव पार्छ भन्ने चासोसमेत बढेको छ।

You may also like

This will close in 0 seconds