साउदी अरबमा ड्रोनको भग्नावशेष लागेर नेपालीको मृत्यु, सरकारद्वारा दुःख व्यक्त

by समतल अनलाइन
32Shares

काठमाडौं । सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर एक जना नेपाली नागरिकको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै घटनामा नेपाली नागरिकको ज्यान गएकोमा दुःख व्यक्त गर्दै मृतकका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ । परराष्ट्र मन्त्रालयले सर्वसाधारण र अत्यावश्यक पूर्वाधारहरूलाई लक्षित गरी गरिने कुनै पनि किसिमका आक्रमणको कडा शब्दमा भर्त्सना गर्ने नेपालको अडानलाई पुनः दोहोर्‍याएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कुनै पनि विवादको समाधान हिंसाबाट नभई संवाद, वार्ता र कूटनीतिक पहलका माध्यमबाट शान्तिपूर्ण रूपमा गरिनुपर्ने धारणा व्यक्त गरिएको छ । साउदी अरामकोद्वारा सञ्चालित सायबाह तेल क्षेत्र दक्षिणपूर्वी साउदी अरेबियाको रुब अल खाली मरुभूमिमा अवस्थित छ।

पछिल्लो समय खाडी क्षेत्रमा बढ्दो क्षेत्रीय तनावका कारण निर्माण, सुरक्षा, आतिथ्य र ऊर्जा जस्ता विभिन्न क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षाप्रति थप चिन्ता बढाएको छ। नेपालले अन्तर्राष्ट्रिय विवादहरूलाई सधैँ कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने र नागरिक तथा नागरिक पूर्वाधारको रक्षा गरिनुपर्नेमा जोड दिँदै आएको छ।

You may also like