कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–१६, डण्डामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको घटनामा पीडित परिवारले निष्पक्ष र गहन अनुसन्धान गर्न माग गरेको छ। दुर्घटनामा स्थानीय ४२ वर्षीय राजु केसीको मृत्यु भएको थियो।
गत कात्तिक १ गते साँझ डण्डास्थित जक्सन होटल नजिक पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो। हरियाली सामुदायिक वनबाट डण्डातर्फ आउँदै गरेको बा ८० प २९१२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको ग १ च ६७०४ नम्बरको कारले ठक्कर दिएको थियो। दुर्घटनापछि फरार रहेका कावासोती–१६ निवासी ६२ वर्षीय कार चालक मिनबहादुर क्षेत्रीलाई प्रहरीले पक्राउ गरी सवारी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ।
मृतक केसी र पक्राउ परेका कार चालक क्षेत्री साथी रहेको परिवारले जनाएको छ। परिवारका अनुसार दुर्घटनाको दिन दसैँका अवसरमा केसी आफन्तको घरमा खसी काट्ने तथा भेटघाट कार्यक्रममा सहभागी भएका थिए। सोही क्रममा साथीहरूबाट फोन आएपछि उनी हरियाली सामुदायिक वन उपभोक्ता समूहको कार्यालय पुगेका थिए।
परिवारका अनुसार त्यहाँ क्षेत्रीसहित आठ जनाको समूहले सामुदायिक वनको जंगलमा खसी काटेर खानपिन गरेको थियो। उक्त भेटघाटमा को–को सहभागी थिए, उनीहरूबीच के कुराकानी भएको थियो र भेटघाटपछि भएका गतिविधिको दुर्घटनासँग कुनै सम्बन्ध थियो वा थिएन भन्ने विषयमा समेत अनुसन्धान हुनुपर्ने परिवारको माग छ।
परिवारले उपलब्ध गराएको भनिएको सीसीटीभी फुटेजमा क्षेत्रीले चलाएको कार, अर्को स्कर्पियो र केसी सवार मोटरसाइकल सोही स्थानबाट सँगसँगै निस्किएको देखिने दाबी गरिएको छ। परिवारका अनुसार फुटेजमा केसीको मोटरसाइकल अगाडि बढिरहेका बेला पछाडिबाट आएको कारले गति बढाएर ठक्कर दिएको देखिन्छ।
ठक्कर दिएपछि कार नरोकिएको र चालक घटनास्थलबाट फरार भएको विषयले थप अनुसन्धान आवश्यक रहेको परिवारको भनाइ छ। दुर्घटनाका बेला कारको पछाडि रहेको स्कर्पियो गाडीमा सवार व्यक्तिहरूको भूमिकाबारे पनि परिवारले प्रश्न उठाएको छ। दुर्घटना देखे पनि स्कर्पियोमा रहेका व्यक्तिहरू तत्काल उद्धारमा संलग्न नभई घटनास्थल छाडेको परिवारको आरोप छ।
त्यसैगरी, केसीलाई फोन गरेर बोलाउने व्यक्ति, भेटघाटमा सहभागी भएका व्यक्तिहरू तथा दुर्घटनाअघि उनीसँगै रहेका व्यक्तिहरूसँग आवश्यक सोधपुछ गर्न परिवारले माग गरेको छ। दुर्घटनाअघि मृतकसँगै निस्किएका व्यक्तिहरूसँग प्रहरीले सोधपुछ नगरेको परिवारको गुनासो छ।
घटनाको पाँच दिन बितिसक्दासमेत केसीको शवको पोस्टमार्टम तथा अन्त्येष्टि हुन नसकेको परिवारले जनाएको छ। परिवारले घटनालाई सामान्य सवारी दुर्घटनाका रूपमा मात्रै नहेरी दुर्घटनाको प्रकृति, घटनाअघिका गतिविधि, सीसीटीभी फुटेज र दुर्घटनापछिको घटनाक्रमसमेत समेटेर अनुसन्धान गर्न माग गरेको छ।
यता, घटनाको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक मोहनकुमार खड्काले कार चालक क्षेत्रीलाई पक्राउ गरी सवारी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जानकारी दिए।
घटनामा उठेका प्रश्नहरूको निरूपण गर्न दुर्घटनासम्बन्धी प्रमाण, सीसीटीभी फुटेज तथा घटनाअघि र पछि संलग्न व्यक्तिहरूको गतिविधिबारे प्रहरीले गर्ने अनुसन्धान महत्वपूर्ण हुने देखिन्छ। यद्यपि, दुर्घटनाको वास्तविक कारण र अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।
कावासोतीमा कारको ठक्करबाट मृत्यु भएका केसीको घटनामा निष्पक्ष अनुसन्धान गर्न परिवारको माग
36

