दसैँमा पनि रोकिएन विदेशिने युवाको लर्को, रोजगारी अभाव मुख्य कारण

by समतल अनलाइन
34Shares

काठमाडौँ । नेपालीहरूको प्रमुख चाड बडादसैँमा परिवारसँग बसेर खुसी साटासाट गर्ने, आफन्तसँग भेटघाट गर्ने र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने परम्परा छ। तर, यही चाडपर्वको उल्लासका बीच पनि रोजगारी, अध्ययन र उज्ज्वल भविष्यको खोजीमा सयौँ नेपाली युवायुवती विदेशिने क्रम रोकिएको छैन।

काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दसैँका दिनमा समेत विदेश जाने यात्रुको चहलपहल उल्लेख्य देखिएको छ। विमानस्थल हुँदै विभिन्न देशतर्फ प्रस्थान गर्ने नेपालीमध्ये अधिकांश रोजगारीको खोजीमा रहेका युवा छन्। यसका अतिरिक्त उच्च शिक्षा हासिल गर्न, परिवारका सदस्यलाई भेट्न तथा व्यक्तिगत कामका लागि विदेश जाने यात्रु पनि उत्तिकै देखिन्छन्।

चाडपर्वमा परिवारसँगै बसेर रमाइलो गर्ने र आफन्तबाट आशीर्वाद लिने नेपाली परम्परा भए पनि आर्थिक अवसर र सुरक्षित भविष्यको खोजीमा विदेशिने युवाको प्रवृत्ति बढ्दो छ। विमानस्थलमा देखिने युवाको भीडले देशभित्र रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न नसकिएको अवस्थासँगै नेपाली समाजमा देखिएको आर्थिक तथा सामाजिक परिवर्तनलाई प्रतिबिम्बित गर्छ।

स्वदेशमै अध्ययन, पेसा–व्यवसाय र रोजगारीमा संलग्न हुनुभन्दा विदेशलाई प्राथमिकता दिने प्रवृत्तिले ग्रामीण क्षेत्रमा जनशक्ति अभावको समस्या पनि बढाएको छ। गाउँघरमा युवा जनशक्तिको उपस्थिति घट्दै जाँदा कृषि उत्पादन प्रभावित हुनुका साथै कतिपय खेतबारी बाँझिने अवस्था सिर्जना भएको छ।
रोजगारीका लागि विदेश जान लागेका सिरहाका लखनकुमार यादवले स्वदेशमा योग्यता र क्षमताअनुसारको काम नपाउँदा विदेशिन बाध्य भएको बताए। “योग्यता र क्षमताअनुसारको काम स्वदेशमै पाउने सुनिश्चित भइदिएको भए दसैँको बीचमा परिवार छाडेर विदेश जाने मन थिएन। आफूसहित परिवारको भविष्यका लागि विदेश जाँदैछु,” उनले भने।

यादवका अनुसार परिवारको दैनिक खर्च व्यवस्थापन, शिक्षा र स्वास्थ्यमा हुने खर्च धान्न, आर्थिक अवस्था सुधार्न तथा भविष्यका लागि बचत गर्न वैदेशिक रोजगारी आवश्यक बनेको छ।

विमानस्थलमा भेटिएका गुल्मीका प्रकाश खत्री पनि स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्दा युवा पुस्ता विदेशतर्फ आकर्षित भएको बताउँछन्। नेपालमा रोजगारीका अवसर सीमित हुनु, उपलब्ध काममा समेत सेवासुविधा न्यून हुनु र विदेश जाने कतिपय व्यक्तिको आर्थिक तथा सामाजिक अवस्था सुध्रिएको देखिनुले युवालाई विदेशप्रति आकर्षित गरेको उनको भनाइ छ।

“नेपालमा रोजगारीको अवसर नभएको, भए पनि सेवासुविधा न्यून रहेको र एकाधबाहेक विदेश जानेहरूको आर्थिक, शैक्षिक तथा सामाजिक हैसियत राम्रो देखिएकाले चाडपर्वमा रमाउनेभन्दा पनि सुनौलो भविष्यका लागि विदेशलाई नै रोज्नुपर्ने अवस्था छ,” खत्रीले भने।
यता, छोरालाई विदेश पठाउन विमानस्थल पुगेका कैलालीका ठक्कर कलेलले वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्था सुधार्न र जीवनस्तर उकास्न सहयोग पुर्‍याए पनि देशका लागि दीर्घकालीन चुनौती निम्त्याउन सक्ने बताए।

उनका अनुसार दक्ष, मेहनती र सक्रिय युवा जनशक्ति ठूलो सङ्ख्यामा विदेशिँदा कृषि, उद्योग, निर्माण, पर्यटन तथा उत्पादनमूलक क्षेत्रमा आवश्यक श्रमशक्तिको अभाव हुन सक्छ। यसले स्वदेशी उत्पादन, आर्थिक गतिविधि र विकास निर्माणमा समेत असर पार्न सक्ने उनको चिन्ता छ।
वैदेशिक रोजगारीबाट प्राप्त आम्दानीले धेरै परिवारको जीविकोपार्जन सहज बनाएको छ। तर, स्वदेशमै पर्याप्त र मर्यादित रोजगारीका अवसर सिर्जना गर्न नसकिए युवा पलायनको क्रमले निरन्तरता पाउने देखिन्छ। त्यसैले युवाको सीप, क्षमता र श्रमलाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्नु तथा रोजगारीका अवसर विस्तार गर्नु आजको प्रमुख आवश्यकता बनेको छ।

दसैँजस्तो पारिवारिक मिलनको पर्वमा समेत विदेशिने युवाको लर्कोले नेपाली समाजको एउटा गम्भीर यथार्थ उजागर गरेको छ—परिवारसँगै बसेर चाडपर्व मनाउने चाहना हुँदाहुँदै पनि आर्थिक बाध्यता र भविष्यप्रतिको चिन्ताले धेरै युवालाई स्वदेश छाड्न बाध्य बनाइरहेको छ।

You may also like