४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

by समतल अनलाइन
56Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा दुर्घटना भएका हुन्।

काठमाडौंको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ। त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा.प्र. ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका बैठाको उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका–४ हलगडास्थित कोशी लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालक ६२ वर्षीय छत्रबहादुर भण्डारीको मृत्यु भएको छ। इटहरी–८ निवासी भण्डारीले चलाएको को २७ प २०३६ नम्बरको मोटरसाइकललाई प्र.१–०२–००१ ख ९९८५ नम्बरको बसले ठक्कर दिएको थियो।

मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा ब्रेक फेल भएर अटो दुर्घटना हुँदा ४५ वर्षीय सन्तबहादुर माझीको मृत्यु भएको छ। बा.प्र. ०८–००१ ह ०१०५ नम्बरको अटो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
यसैगरी, मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय बलबहादुर विकको मृत्यु भएको छ। प्र.१–०१–२४५ प ६३८० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका विक घाइते भएका थिए।

तनहुँमा पनि सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ। पृथ्वीराजमार्गअन्तर्गत डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको बा.१८ च ४५८७ नम्बरको गाडीले व्यास नगरपालिका–१ स्थित अम्रेनीमा ठक्कर दिँदा करिब ४० वर्षीय पुरुषको मृत्यु भएको हो। मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यी दुर्घटनामा परी १३ जना घाइते भएका छन्।

You may also like

This will close in 0 seconds