पेरिस । फ्रान्सको राजधानी पेरिससहित प्रमुख सहरहरूमा सरकारविरोधी प्रदर्शन चर्किएको छ। बढ्दो महँगी, शिक्षा क्षेत्रमा देखिएको बेथिति र सरकारी नीतिप्रति असन्तुष्टि जनाउँदै सडकमा उत्रिएका ५ लाख ५० हजारभन्दा बढी नागरिकको प्रदर्शन उग्र बनेपछि देशभर तनावको अवस्था सिर्जना भएको छ।
प्रदर्शनका क्रममा विभिन्न सहरका सडक अश्रुग्यासको धुवाँले भरिएका छन् भने केही स्थानमा आगजनी, लुटपाट र प्रहरीसँग झडपका घटना भएका छन्। पेरिस, मार्से, लियोन, रेनेस र लिलेलगायत प्रमुख सहरमा प्रदर्शन हिंसात्मक बनेको सीएनएनले जनाएको छ।
पछिल्ला केही सातादेखि फ्रान्सका विद्यार्थीहरूले जीर्ण विद्यालय भवन र शिक्षक अभावको विरोधमा प्रदर्शन गर्दै आएका थिए। विद्यार्थीहरूको आन्दोलनमा ट्रेड युनियन तथा सन् २०१८ मा चर्चित बनेको ‘येलो भेस्ट’ आन्दोलनका सहभागीहरू पनि जोडिएपछि प्रदर्शनले व्यापक रूप लिएको हो।
दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै जानु र सरकारका नीतिप्रति नागरिकको असन्तुष्टि चुलिँदै जाँदा सुरुमा शान्तिपूर्ण देखिएको आन्दोलन हिंसात्मक बन्दै गएको छ। प्रदर्शनकारीहरूले विभिन्न पसल तथा व्यावसायिक प्रतिष्ठानमा तोडफोड र लुटपाट गरेका छन्। लिलेस्थित एप्पल स्टोरसमेत लुटिएको जनाइएको छ।
लियोनमा ऐतिहासिक पर्यटक कार्यालयको भवनमा आगजनी गरिएको छ भने लिमोजमा टाउन हलमा लागेको आगोका कारण भवनको छाना खस्ने अवस्था आएको बताइएको छ।
हिंसा नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र वाटर क्यानन प्रयोग गरेको छ। झडपका क्रममा १५० भन्दा बढी प्रहरी घाइते भएका छन् भने १ हजार २०० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेको विवरण सार्वजनिक भएको छ।
राष्ट्रपति इमानुएल म्याक्रोंले प्रदर्शनका नाममा हिंसा र तोडफोड गर्नेहरूलाई कारबाही गरिने चेतावनी दिएका छन्। सरकारले शिक्षा क्षेत्रमा सुधार ल्याउन थप ३ हजार शिक्षक नियुक्त गर्ने प्रतिबद्धता जनाए पनि प्रदर्शनकारीहरूको आक्रोश मत्थर हुन सकेको छैन।
फ्रान्समा बढ्दो सामाजिक असन्तुष्टि र सरकारविरोधी प्रदर्शनले राजनीतिक वातावरणसमेत थप जटिल बनाएको छ। राष्ट्रपति म्याक्रोंको कार्यकालको अन्त्य नजिकिँदै गर्दा देशमा राजनीतिक अनिश्चितता बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।


