दसैँमा कसैको घरमा चुलो निभ्न नदिन जुटे बुटवलका युवा, ६० घरमा पुर्‍याए राहत

by समतल अनलाइन
56Shares

बुटवल । चाडपर्व र दैनिक जीवनयापनमा समस्या भोगिरहेका असहाय, मिर्गौला पीडित तथा विपन्न परिवारलाई लक्षित गर्दै बुटवलमा युवाहरूले राहत वितरण गरेका छन्। थमन पुनको नेतृत्वमा देश तथा विदेशमा रहेका युवाहरूबाट सङ्कलित रकमबाट ६० घरपरिवारलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरिएको हो।

युवाहरूले सङ्कलन गरेको ३ लाख रुपैयाँबाट विपन्न परिवारलाई राहत वितरण गरिएको अभियानका नेतृत्वकर्ता थमन पुनले जानकारी दिए। राहतस्वरूप प्रत्येक परिवारलाई २५ किलो चामल, दाल, कोलगेट, चिनी लगायतका दैनिक उपभोग्य सामग्री प्रदान गरिएको थियो। राहत पाउने प्रत्येक परिवारलाई करिब ५ हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको पुनले बताए।

बुटवल उपमहानगरपालिका–११ का प्रगतिनगर, देवीनगर, रानीगन्ज, सिर्जनानगर, मजुवा, टप मजुवा, इट्टाभट्टि ,चिडियाखोला, ज्योतिनगर र दिपनगरलगायतका क्षेत्रमा राहत वितरण गरिएको थियो। त्यस्तै, देवदह नगरपालिकाको चरङ्गे क्षेत्रका विपन्न परिवारलाई समेत सहयोग गरिएको पुनले जानकारी दिए।

राहत वितरणका क्रममा कतिपय परिवार भावुक बनेको उनले बताए। आर्थिक अभावका कारण दैनिक आवश्यकतासमेत पूरा गर्न कठिनाइ भोगिरहेका परिवारलाई थोरै भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको पुनको भनाइ छ।

उनका अनुसार यसअघि पनि युवाहरूले विभिन्न सामाजिक कार्य गर्दै आएका थिए। यसपटकको अभियानमा देश तथा विदेशमा रहेका युवाहरूको सहयोग जुटाएर वास्तविक रूपमा आवश्यक परेका परिवारसम्म राहत पुर्‍याउने प्रयास गरिएको हो। राहत वितरण गर्दा सम्बन्धित टोलका अध्यक्ष, टोल प्रतिनिधि र जनप्रतिनिधि हरु सङ्ग समन्वय गरी सहयोग आवश्यक भएका परिवार पहिचान गरिएको उनले बताए।

बुटवल उपमहानगरपालिका–११ का वडा सदस्य नकुल शाहीले युवाहरूले गरेको सामाजिक कार्यको प्रशंसा गरे। समाजमा रहेका असहाय तथा विपन्न नागरिकलाई सहयोग गर्नु सकारात्मक काम भएको उल्लेख गर्दै उनले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताए। युवाहरूलाई आगामी दिनमा पनि सामाजिक काम गर्न सहज वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।

समाजमा सानो सहयोगले पनि समस्यामा परेका परिवारलाई राहत मिल्ने भएकाले युवाहरूले गरेको यस्तो प्रयासले सामाजिक उत्तरदायित्व र आपसी सहयोगको भावना बलियो बनाउने अपेक्षा गरिएको छ।

You may also like

This will close in 0 seconds