बुटवल, असोज २९ । बुटवलमा सम्पन्न वडास्तरीय दोस्रो जि–२५ सेभेन ए साइड भेट्रान्स कप फुटबल प्रतियोगिता–२०८३ को उपाधि वडा नं. ४ ले जितेको छ। शुक्रबार सम्पन्न फाइनल खेलमा वडा नं. ११ लाई २–१ गोल अन्तरले पराजित गर्दै वडा नं. ४ ले उपाधि हात पारेको हो।
उपाधिसँगै वडा नं. ४ ले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता वडा नं. ११ ले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
प्रतियोगितामा वडा नं. २ अनुशासित टिम घोषित हुँदै नगद १० हजार रुपैयाँ र कपबाट पुरस्कृत भयो। व्यक्तिगत विधातर्फ वडा नं. ११ का सोमबहादुर थापा (सुरज) उत्कृष्ट खेलाडी घोषित भए। वडा नं. ४ का लक्ष्मण गौतम उत्कृष्ट गोलकिपर बने भने वडा नं. १० का ६३ वर्षीय घनश्याम श्रेष्ठ ज्येष्ठ खेलाडी घोषित भए।
त्यसैगरी, वडा नं. १० का भरत थापा र वडा नं. ४ का दिनेश बजिमयले हाईस्कोररको पुरस्कार प्राप्त गरे। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. ४ का रमेश मल्ल प्लेयर अफ द म्याच घोषित भए।
देविनगरस्थित एन्फा एकेडेमीको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक फाइनलमा वडा नं. ११ का देवान गुरुङले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। तर, पहिलो हाफको अन्तिम समयमा वडा नं. ४ का दिनेश बजिमयले बराबरी गोल गरे। दोस्रो हाफमा रमेश मल्लले निर्णायक गोल गर्दै वडा नं. ४ लाई उपाधि दिलाए।
एक समारोहबीच विजेता, उपविजेता तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो। पुरस्कार वितरण कार्यक्रममा खेलराज पाण्डेय, प्रथम पुरस्कारका सौजन्यकर्ता तथा समाजसेवी विष्णु हमाल, आवास ग्रुपका प्रबन्ध निर्देशक (एमडी) महेश थैव, बुटवल उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठ, क्लबका अध्यक्ष सजनकुमार भारी, उपाध्यक्ष तेजेन्द्र खनाल र लेखा संयोजक विष्णु आचार्यलगायतको उपस्थिति थियो।
प्रतियोगितामा बुटवल उपमहानगरपालिकाभित्रका विभिन्न वडाका भेट्रान्स खेलाडी सम्मिलित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए।


