बुटवल । रुपन्देही प्रहरीले अटो रिक्सा चोरीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। गुल्मीका विभिन्न स्थानीय तहका स्थायी बासिन्दा उनीहरूलाई बुटवलमा चोरी भएको अटो रिक्सासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार असोज २८ गते बिहान करिब १ः३० बजे बुटवल उपमहानगरपालिका–११ बुद्धनगरस्थित घरअगाडि पार्किङ गरी राखिएको लु १ ह ७९८ नम्बरको अटो रिक्सा चोरी भएको थियो।
अटो रिक्सा हराएको सूचना प्राप्त हुनासाथ प्रहरीले खोजतलास सुरु गरेको थियो। खोजीका क्रममा असोज २९ गते दिउँसो करिब ४ बजे सिद्धार्थनगर नगरपालिका–१ भण्डिहवामा चोरी भएको अटो रिक्सा फेला परेको प्रहरीले जनाएको छ। त्यस क्रममा अटो रिक्साको पार्टपुर्जा काट्ने अवस्थामा प्रयोग गरिएको ग्राइन्डरसमेत बरामद गरिएको थियो।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएर सम्मानित रुपन्देही जिल्ला अदालतमा पेस गरेको थियो। अदालतले असोज ३० गते चोरीसम्बन्धी कसुरमा अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
पक्राउ पर्नेमा गुल्मीको धुर्कोट गाउँपालिका–७ का २० वर्षीय बाबुराम नेपाली, सोही गाउँपालिका–४ का ३३ वर्षीय रमेश नेपाली, इश्मा गाउँपालिका–२ का ३३ वर्षीय बाबुराम थापा, मदाने गाउँपालिका–३ का २५ वर्षीय वीरबहादुर नेपाली र रेसुङ्गा नगरपालिका–९ का २३ वर्षीय दीपक खनाल रहेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


