नागढुङ्गा सुरुङमार्गमा नियम उल्लङ्घन गर्ने २८४ चालक कारबाहीमा

by समतल अनलाइन
40Shares

काठमाडौँ । नागढुङ्गास्थित सुरुङमार्गमा पटकपटक ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना सवारी चालक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सुरुङमार्गभित्र लेन अनुशासन कायम नगर्ने, तीव्रगतिमा सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कारबाही गरिएको हो।
कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सुरुङमार्ग सञ्चालनमा आएदेखि नै ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने चालकलाई कारबाहीको दायरामा ल्याइएको छ।
सुरुङमार्गमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा मात्र सवारी चलाउन पाइने व्यवस्था छ। सोहीअनुसार सूचना बोर्ड राखिएको भए पनि केही चालकले निर्धारित गति उल्लङ्घन गर्ने गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सुरुङमार्गभित्र स्टन्ट गर्ने, अनावश्यक हर्न बजाउने, गलत तरिकाले ओभरटेक गर्ने तथा तीव्रगतिमा सवारी चलाउनेजस्ता गतिविधि हुने गरेका छन्। यस्ता गतिविधिले दुर्घटनाको जोखिम बढाउनुका साथै आकस्मिक अवस्थामा उद्धार कार्यसमेत प्रभावित हुनसक्ने प्रहरीको भनाइ छ।
ट्राफिक प्रहरीले सुरुङमार्ग प्रयोग गर्दा अन्य सडकको तुलनामा थप सतर्क र अनुशासित भएर सवारी चलाउन चालकलाई आग्रह गरेको छ। प्रहरीले लेन अनुशासन कायम गर्न, निर्धारित गति पालना गर्न, अनावश्यक हर्न नबजाउन तथा ओभरटेक गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
यसैबीच, आज मात्रै सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने १३ जना चालक कारबाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयअन्तर्गत ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले उनीहरूलाई कारबाही गरेको हो।

You may also like